यस सिजनमा उखुको मुल्य प्रतिक्विन्टल रु एक हजार २५ कायम गर्नुपर्ने उखु उत्पादक किसानहरुले माग राखेका छन्। उखु उत्पादक किसानहरुको छाता संगठन नेपाल उखु उत्पादक महासंघको सर्लाहीस्थित हरिवनमा सम्पन्न विस्तारित बैठकले उखु क्रसिङ सिजन २०८३/०८४ का लागि उखुको प्रतिक्विन्टल मुल्य अनुदानसहित रु एक हजार २५ कायम गर्न माग गर्ने निर्णय गरेको छ ।
उखु उत्पादक किसानहरुले गत वर्षको तुलनामा रु तीन सय ३५ बढाउनुपर्ने माग राखेका हुन् ।गत वर्ष उखुको मुल्य प्रतिक्विन्टल रु छ सय ९० रहेको थियो।यो वर्ष चिनीको मुल्य,कृषि श्रमिकको ज्याला बढेको तथा इन्धन महँगो भएको र मलखाद समेत कालोबजारीमा किनेर हाल्नु परेको लगायतका कारण सोही अनुसार उखुको मुल्य कायम गर्न माग गरिएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले जानकारी दिए ।
उखु उत्पादक किसानहरुले उखुको मुल्य प्रतिक्विन्टल रु एक हजार २५ कायम गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने तयारी समेत गरेका छन्।हरिवनमा बसेको बैठकले उखु किसानका प्रतिनिधि, उद्योगी र सरकारबिच त्रिपक्षीय वार्ता गरेर मात्र उखुको मुल्य कायम गर्न माग गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष रायले बताए ।
अब दशैँ,तीहार लगत्तै चिनी मिलहरु सञ्चालनको तयारी सुरु हुने भएकाले जतिसक्दो चाँडो र आफूहरुको माग अनुसार उखुको मुल्य तोक्न उखु उत्पादक किसानहरुले माग गरेका छन्।
यो वर्षका लागि उखुको मुल्य निर्धारण गर्नका लागि आवश्यक स्थलगत अुगमन गर्न भन्दै सरकारले केही साताअघि प्राविधिक सहितको टोली उखु खेती हुने तराईका विभिन्न जिल्लाहरुमा पठाएको थियो ।उखुलाई नगदे बाली भएिपनि लागत रकम भन्दा कममा उद्योगलाई उखु बेचेर पनि समयमा भुक्तानी नपाउँदा किसानहरु मारमा पर्ने गरेका छन्।जसका कारण पछिल्लो समय उखु खेतीप्रति किसानहरुको आकर्षण घटेको छ ।केही वर्ष अघि सवा करोड क्विन्टल उखु उत्पादन हुने सर्लाहीमा पछिल्ला वर्षहरुमा उखुको उत्पादन घटेको भएपनि अहिले नयाँ नयाँ प्रजातिका उखुहरु भित्रिएका कारण उखु उत्पादन बढ्ने अनुमान गरिएको इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योग नारायण रजकले बताए ।
उनका अनुसार चालु सिजनमा देशभरमा सबै भन्दा धेरै १४ हजार बिघामा करिब ७० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ।सर्लाहीमा तीन वटा चिनी उद्योग रहेका भएपनि इन्दु शंकरले किसानहरुलाई समयमै रकम भुक्तानी गरेर किसानहरुको मन जितेको भएपनि अरु उद्योगहरुले भुक्तानीमा आलटाल गरि रहेका छन् ।