भदौमा सरुवा भएका प्रधानाध्यापक रायले अझैँ बुझाएनन् विद्यालयको हिसाब किताब

789 Shares

सर्लाहीको बरहथवा नगरपालिका ८ स्थित आधारभूत विद्यालय आनन्दनगर टाँडीबाट सरुवा भएका प्रधानाध्यापक हरिशरण रायले विद्यालयको हरहिसाब बुझाउन आलटाल गरेका पाइएको छ ।गत भदौमा बरहथवा नगर कार्यपालिकाको बैठकले दरबन्दी मिलान गर्ने निर्णय गरे अनुसार राय बरहथवा नगरपालिका ८ स्थित आधारभूत विद्यालय आनन्दनगर टाँडीबाट बरहथवा नगरपालिका १८ स्थित आधारभूत विद्यालय,श्रीपुरमा सरुवा भएका थिए ।
हाल बरहथवा नगरपालिका १८ स्थित आधारभूत विद्यालय श्रीपुरको प्रधानाध्यापक रहेका रायले बरहथवा नगरपालिका ८ को आधारभूत विद्यालय आनन्दनगरको हिसाब किताब नबुझाएको विद्यालय स्रोतले जनाएको छ ।विद्यालयले पटक पटक ताकेता गर्दा नगरपालिका तथा प्रहरीमा बुझाउने प्रतिबद्धता गरेपनि रायले हालसम्म नबुझाएको आधारभूत विद्यालय आनन्दनगर विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयका अनुसार हालसम्म कागजात नबुझाउँदा विद्यालयले लेखापरीक्षण गर्न पाएको छैन भने पठनपाठन पनि प्रभावित भएको छ ।प्रधानाध्यापक रायले बरबुझारथ नगरेपछि विद्यालयले नगरपालिका कार्यालयमा  असोज १९ मा र कात्तिक ८ मा इलाका प्रहरी कार्यालय बरहथवामा निवेदन दिएको थियो।विद्यालय स्रोतका अनुसार इलाका प्रहरी कार्यालय बरहथवामा प्रधानाध्यापक रायले कागजात बुझाउने प्रतिबद्धता व्यक्त गरेका थिए,तर यो समाचार तयार पर्दा सम्म बुझाएका छैनन् ।
त्यसपछि नगरपालिका कार्यालयमा भएको छलफलमा पनि प्रधानाध्यापक रायले हरहिसाब बुझाउने प्रतिवद्धता जनाएका थिए ।फागुन १ गते नगरपालिकाले प्रधानाध्यापक रायलाई पत्र पठाउँदै साविक विद्यालयको नगद,जिन्सी,श्रेस्ता लगायत लेखापरीक्षण प्रतिवेदन पाँच दिन भित्र बुझाउन निर्देशन दिएको थियो तर उनले उक्त पाँच दिनको समय गुजारिसकेका छन् ।
विद्यालयको अभिभावक भेलाले रायविरुद्ध उच्च अदालतमा मुद्दा दिने निर्णय गरेको बरहथवा नगरपालिका ८ स्थित आधारभूत विद्यालय आनन्दनगर टाँडी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश यादवले बताए । प्रधानाध्यापक रायले भने आफूले बरबुझारथ गरिसकेको दावी गरेका छन्।“बरबुझारथ गरिसकेको छु,पत्र दिन मात्र बाँकी छ,त्यसैको लागि नगरपालिका जान लागेको छु ।”प्रधानाध्यापक रायले भने ।

सम्बन्धित समाचार