१८ करोडको सिटी स्क्यान खरिदमा मन्त्री सिंहका भाई विजय समेतको साथ,सेटिङ मिलाउन बायो मेडिकल इन्जिनियर शैलेन्द्रको काज

82 Shares

मधेस प्रदेशको“स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र”ले निश्चित आपूर्तिकर्ताको मेसिन महँगोमा किन्न एक सय २८ स्लाइसको सिटी स्क्यानको टेन्डर निकालेको भन्दै विभिन्न टिका टिप्पणी सुरु भएको छ।आपूर्ति केन्द्रका नेतृत्वले मेसिन उत्पादक कम्पनी“फिलिप्स”सँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर मिलेमतोमा टेन्डर निकालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी परेपछि विभिन्न टिका टिप्पणी सुरु भएको हो ।
२०८० फागुन १० गते बिहीबारमा एक सय २८ स्लाइसको दुई वटा सिटी स्क्यान मेसिन करिब मधेस प्रदेशको“स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र”ले रु १८ करोड २० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो। त्यसको स्पेशिफिकेशन निश्चित कम्पनीको उत्पादकसँग मात्र मिल्नेगरि बनाएको देखिएपछि मधेस प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा समेत उजुरी परेको थियो ।
खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिनको विषयमा उजुरी परेपछि २०८० फागुन १३ गते मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सरकारका प्रमुख सचिवलाई आवश्यक कारबाही गर्ने भन्दै निर्देशन दिइसकेका मन्त्रालयले स्रोतले जनाएको छ ।मुख्यमन्त्री यादवले प्रमुख सचिवलाई निर्देशन दिएपछि प्रमुख सचिवले प्रशासन शाखाका सचिवलाई कानुन बमोजिम प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका मन्त्रालय स्रोतको भनाई छ ।
“यस सम्बन्धमा सम्बन्धित सचिव मार्फत निवेदनमा उल्लिखित अधिकारीहरूसँग जवाफ माग्ने र तत् सम्बन्धमा यसको विषयमा प्रचलित कानुन बामोजिमको प्रक्रिया अघि बढाउने” प्रमुख सचिवले प्रशासन शाखाका सचिवलाई लेखेको निर्देशन पत्रमा लेखिएको छ।“स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गरेको सिटी स्क्यानको टेन्डरमा भइरहेको अनियमितताको विषयमा मधेस प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा फागुन १३ नै उजुरी परि सकेको” समाचार स्रोतले जनाएको छ ।
“स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र”जनकपुरले मिति २२ फेब्रुअरी २०२४ आइएफबी नं. एमपी–पीएचएमसी–एनसीबी–गुड्स–१३–२०८०÷०८१ प्रकाशित टेन्डरमा एक सय २८ स्लाइस सिटी स्क्यान लिन सूचना आह्वान गरेको पाइएको”उजुरीमा उल्लेख छ।
केन्द्रले एक सय २८ स्लाइसको सिटी स्क्यान मेसिनका लागि आह्वान गरेको टेन्डरमा मेसिन उत्पादक कम्पनी फिलिप्ससँग मात्रै मिल्नेगरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएर उसैको नेपाली एजेन्टलाई टेन्डर दिने योजना रहेको देखिएको उजुरी पत्रमा उल्लेख छ।
“सो खरिद ऐन विपरीत भएकाले सो कार्यमा संलग्न निमित्त निर्देशक डा.मनिष पाण्डे र बायो मेडिकल इन्जिनियर वन्दना मिश्रलाई विभागीय कारबाही गर्न छानबिन समिति गठनको माग समेत गरिएको पाइएको छ।मधेस प्रदेश“स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र”ले फेब्रुअरी १४, २०२४ मा एक सय २८ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो।यो सिटी स्क्यान खरिदका लागि प्रिबिड बैठक २०८० फागुन २७ गतेलाई तोकिएको मन्त्रालय स्रोतको भनाई छ।
त्यसैगरी २०८० चैत १० गते सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको छ। सर्लाहीको प्रादेशिक अस्पताल मलंगवा र सिरहा प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन राख्ने संरचना बनाउने “ट्रंकी प्रोजेक्ट”को काम समेत सिटी स्क्यानको टेन्डर पार्नेले नै गर्ने गरी यो टेन्डर आह्वान भएको हो।
बायो मेडिकल इन्जिनियर शैलेन्द्रको काज फिर्ता,सेटिङ मिलाउन मिश्रलाई ल्याईयो 
खरिद प्रक्रिया सुरु भएपछि केन्द्रमा भएका सरुवा र नियुक्ति र उजुरीमा गरिएको मिलेमतोको दाबी हेर्दा मिलेमतो रहेको आशंका गर्न सकिन्छ ।तीन महिनाअघि मधेस प्रदेशको “स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र”का तत्कालीन निर्देशक डा.नागेन्द्र यादवलाई हटाएर डा.मनिष पाण्डेलाई निमित्त निर्देशकको जिम्मेवारी दिनु र डा.यादवलाई केन्द्रबाट हटाएर जिल्ला अस्पताल सिरहाको मेडिकल सुपरिटेन्डेन्ट(मेसु)मा सरुवा गरिनुले पनि सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गर्ने खोजेको आश.का सृजना भएको छ ।
बायो मेडिकल इन्जिनियर समेत सहमत नभई आफूले चाहेकै कम्पनीको सामान किन्न सम्भव नहुने र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थायी बायो मेडिकल इन्जिनियर शैलेन्द्र यादवलाई समेत अन्यन्त्र सरुवा गरिनु र बायो मेडिकल इन्जिनियर वन्दना मिश्रलाई ल्याउनुले पनि मिलेमतोको सहजै आशंका गर्न सकिने जानकारहरु बताउँछन् ।स्थायी बायो मेडिकल इन्जिनियर शैलेन्द्रलाई सिरहाको जिल्ला अस्पतालमा पठाएर बायो मेडिकल इन्जिनियर मिश्रलाई ल्याएर प्राविधिक स्पेशिफिकेशन बनाउनु र सोही अनुसार टेन्डर प्रक्रिया अगाडि बढाउनु नै मिलेमतो रहेको प्रमाणित गर्दछ ।
प्रिबिड मिटिङ हुनु अगाडिसम्म प्राविधिक स्पेशिफिकेशनमा राखिएको मापदण्ड फिलिप्ससँग मिल्छ।फिलिप्सको विशाल पण्डित हस्पिटेक प्रा.लि.को प्रमुख नेपाली एजेन्ट रहेका समेत पाइएको छ।यी सबैको मिलेमतोमा पण्डितको कम्पनीलाई टेन्डर पार्न प्रक्रिया मिलाएको देखिएको जानकारहरु बताउँछन् ।
पाँच वर्षदेखि मधेस प्रदेशको स्वास्थ्य आपूर्तिको अधिकांश टेन्डर हस्पिटेकले एकलौटी पाउँदै आएको छ।मधेस प्रदेशमा सिटी स्क्यान खरिदको विषयमा परेको उजुरीका सवालमा सम्पर्क गर्दा व्यवसायी पण्डितले सिटी स्क्यान खरिदमा आफ्नो सेटिङ नभएको दाबी गरे तर उनी अन्य टेन्डर मिलेमतोमा समेत तानिँदै आएका विवादित व्यवसायी हुन्। 
निमित्त निर्देशक डा.पाण्डेले पनि खरिद सेटिङका लागि आफू केन्द्रमा नआएको दाबी गरेका छन् ।उनले तीन महिनाअघि केन्द्रमा आफु निमित्त निर्देशक भएको पुष्टि समेत गरेका छन् । करिब एक महिनाअघि बायो मेडिकल इन्जिनियर शैलेन्द्रलाई काज फिर्ता गरेर करिब १५ दिन अघि बायो मेडिकल इन्जिनियर मिश्रलाई केन्द्रमा ल्याइएको पनि निमित्त निर्देशक डा.पाण्डेले बताए ।
प्रदेश स्वास्थ्य मन्त्रालयले स्थायी बायो मेडिकल इन्जिनियर शैलेन्द्रलाई जिल्ला अस्पताल सिरहामा दरबन्दी भएको ठाउँमा (काज) फिर्ता गरेर पठाएको केन्द्रका निमित्त निर्देशक डा. पाण्डेले बताए ।“स्थायी बायो मेडिकल इन्जिनियर शैलेन्द्र काजमा रहेका थिए ।मन्त्रालयले उनलाई काज फिर्ता गर्यो।”मन्त्रालय स्रोतको भनाई छ ।
“बायो मेडिकल इन्जिनियर मिश्रलाई केन्द्रमा करार जागिरेका रूपमा पनि नियुक्ति गरिएको नभई अरु कुनै विकल्प नभएकाले बायो मेडिकल इन्जिनियर मिश्रलाई निश्चित काम बापत पारिश्रमिक दिनेगरी परामर्श सेवामा काममा लगाइएको हो।”केन्द्रका निमित्त निर्देशक डा.पाण्डेले बताए,तर उनले इक्यिुप्मेन्ट छ त्यसका लागि स्पेशिफिकेशन बनाउन परामर्शदाताको रूपमा बायो मेडिकल इन्जिनियर मिश्रलाई निश्चित काम बापत पारिश्रमिक दिनेगरी परामर्श सेवामा राखिएको”स्वीकार गरे ।
उनको यो भनाइबाट नै निश्चित कम्पनीको सिटी स्क्यान लगायतका मेसिनसँग मात्रै मिल्नेगरी सेटिङमा तयार गरिएको स्पेशिफिकेशनमा औपचारिकता पूरा गर्नका लागि हस्ताक्षर गर्न मात्रै बायो मेडिकल इन्जिनियर मिश्रलाई केन्द्रले परामर्शदाताका रूपमा नियुक्ति गरेको प्रमाणित गरेको छ ।बायो मेडिकल इन्जिनियर मिश्रले नै सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन बनाएको निमित्त निर्देशक डा.पाण्डेले पुष्टि गरे।बायो मेडिकल इन्जिनियर मिश्र नै सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन बनाउने समितिमा रहेकी समेत बताए ।
सेटिङ मिलाउन मन्त्री सिंहका भाई विजय समेतको साथ
सिटी स्क्यान मेसिन खरिद गर्न मिलेमतोमा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह काठमाडौँ पुगेर आफैँ मेडिकल उपकरणका आपूर्तीकर्ताहरुसँग बैठक गरेर प्रदेश फर्किएका समेत स्रोतको भनाई छ ।निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी सिटी स्क्यान मेसिनको स्पेशिफिकेशन लक्ड गर्न निर्देशन आएपछि मधेस प्रदेश “स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र”का तत्कालीन निर्देशक डा.यादव र स्थायी बायो मेडिकल इन्जिनियर शैलेन्द्रले अस्वीकार गरेपछि प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको निर्देशनमा दुवैको सरुवा गराइएको स्रोतको दाबी छ ।
यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहका भाइ विजय सिंह समेत सो कार्यमा जोडिएका पाइएको छ ।उनी बुद्ध एयरको जनकपुरको स्टेसन म्यानेजर पदमा कार्यरत रहेका छन् । सामान आपूर्तीकर्ताहरुसँग लेनदेन लगायतका छलफलमा विजय नै सक्रिय हुने गरेका स्रोतको दाबी छ ।केन्द्रका निमित्त निर्देशक डा.पाण्डेले भने कसैलाई सेटिङ गरेर सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया सुरु नभएको दाबी गरे ।
“सप्लायर्सहरु उनीहरूको आफ्नो के लफडा हुन्छ हुँदैन,यस्तो गरेपछि त एउटा पनि सिटी एमआरआई खरिद नै हुँदैन”डा.पाण्डेले भने, उनले आफूले सप्लायर्स पण्डितलाई नचिनेको दाबी समेत गरे। सिटी स्क्यान मेसिन खरिद विषयमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहलाई कमलामाई मिडिया प्रा.लिले सम्पर्क गर्दा मन्त्री सिंहको फोन उनका सुरक्षागार्डले उठाए ।उनका स्वकीय सचिव नेकिशे त्रिपाठीलाई फोन गर्दा उनको फोन उठेन् ।

सम्बन्धित समाचार