सर्लाहीबाट वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या बढ्दो

485 Shares

सर्लाहीबाट वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या मधेश प्रदेश मै सबै भन्दा धेरै रहेको पाइएको छ ।मधेश प्रदेशका आठ जिल्लाहरु मध्य सर्लाहीबाट वैदेशिक रोजगारीमा जाने महिलाहरु संख्या मधेश प्रदेश मै सबै भन्दा धेरै रहेका सुरक्षित आप्रवासन (सामी) परियोजनाको तथ्यांकमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगारीका सिलसिलामा खाडी सहित अन्य मुलुकहरुमा जाने महिलाको सूचीमा मधेश प्रदेशबाट सर्लाहीबाट मात्रै एक हजार एक सय २८ जना महिलाहरुले श्रम स्वीकृति लिएका सामीको तथ्यांकमा उल्लेख छ ।मधेश प्रदेशका आठ वटै जिल्लाबाट कुल तीन हजार छ सय २३ जना महिलाहरुले आर्थिक वर्ष २०७९/०८० मा श्रम स्वीकृति लिएका परियोजनाका कार्यक्रम अधिकृत शिवचरण रौनियारले जानकारी दिए ।
उनका अनुसार महोत्तरीबाट दुई सय ९५, रौतहटबाट तीन सय ९९ र बाराबाट  सात सय ९१ जना महिलाहरुले श्रम स्वीकृति लिएका छन् ।त्यस्तै पर्साबाट दुई सय ६५,सप्तरीबाट दुई सय ४८,धनुषाबाट दुई सय ६८ र सिराहाबाट दुई सय २९ जना महिलाहरुले श्रम स्वीकृति लिएका परियोजनाका कार्यक्रम अधिकृत रौनियारले बताए ।
यता,पुरुषतर्फ सर्लाहीबाट २२ हजार नौ सय सात जनाले श्रम स्वीकृति लिएका छन् ।मधेश प्रदेश अन्तर्गत धनुषाबाट सबैभन्दा बढी ३९ हजार तीन सय ११ जना पुरुषले श्रम स्वीकृति लिँदा ,सिराहाबाट २९ हजार छ सय ९९,महोत्तरीबाट २८ हजार पाँच सय ७६,सप्तरीबाट २१ हजार दुई सय २५ जना पुरुषले श्रम स्वीकृति लिएका परियोजनाले जनाएको छ ।
रौतहटबाट १४ हजार आठ सय ९२,बाराबाट १३ हजार आठ सय २२ र पर्साबाट सात हजार पाँच सय ६६ पुरुषले श्रम स्वीकृति लिएका परियोजनाको तथ्यांकमा उल्लेख छ । पुरुष तर्फको तथ्यांकमा मधेश प्रदेशमै सर्लाही चौथो स्थानमा परेको छ ।परियोजनासंग सरकारी निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको मात्र संख्या भएको तथा पर्यटक र विद्यार्थी लगायत अन्य भिसामा विदेशिनेहरुको संख्या समेत ठूलो रहेको कार्यक्रम अधिकृत रौनियारले बताए ।
परियोजनाले जिल्लाका चार पालिकामा सूचना केन्द्र राखेर वैदेशिक रोजगारीमा जान लागेका,गएका र सम्बन्धित परिवारलाई सूचना प्रदान,सिप तालिम,वितिय साक्षरता, मनोसामाजिक परामर्श र न्यायमा पहुँच लगायत कार्यक्रमहरु सञ्चालन गरि रहेको जनाएको छ।परियोजनाले जिल्लाको हरिवन,मलंगवा र बरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकामा सूचना केन्द्र नै राखेर आफ्ना गतिविधिहरु गरि रहेको जनाएको छ ।

सम्बन्धित समाचार