Close This

मृतक रामको तीन महिनापछि अन्त्येष्टि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१२ गते   २८४ पटक हेरिएको

सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको तीन महिनापछि अन्त्येष्टि गरिएको छ । छिमेकीको कुटपीटबाट ज्यान गुमाएका रामको परिवारलाई संघीय सरकारले रु ५ लाख आर्थिक सहायता दिने निर्णय गरेपछि मृतकका परिवारले रामको शव बुझेर अन्त्येष्टि गरेका हुन् । 
नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रामको सिसौटस्थित मनुष्मारा खोलामा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको प्रदेश सभा सदस्य एवम नेपाली कांग्रेसका नेता वीरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो ।
अन्त्येष्टि स्थलमा पुगेर काँगे्रसका जिल्ला सभापति एवम निवर्तमान संघीय सांसद नागेन्द्र कुमार राय, जिल्ला उपसभापति सुरेन्द्र सिंह, प्रदेश सभा सदस्यद्वय वीरेन्द्र प्रसाद सिंह र उपेन्द्र कुशवाहा, क्षेत्रीय सभापति रामआश्रय साह लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर रामप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रदेश सभा सदस्य सिंहका अनुसार अन्त्येष्टिमा काँगे्रसका स्थानीय नेता कार्यकर्ताको उपस्थिति थियो । मृतकको परिवारलाई सुरुमा रु १० लाख दिने भनिएको भएपनि पछि निर्णय भएर आउँदा रु ५ लाख मात्रै रहेको उनका परिवारजनले बताएका छन् ।  सो रकम मृतकका परिवारले केही दिनभित्र पाउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
गत असोज २१ गते छिमेकीहरुसँगको विवादका क्रममा कुटपीटबाट घाईते भएका रामको उपचारको क्रममा मंसिर २२ गते वीरगन्जमा मृत्यु भएको थियो । मृतकको शव ३ महिनासम्म नारायणी अस्पताल वीरगञ्जमै रहेको थियो । सो घटनामा संलग्न तीन जना पूर्पक्षमा कारगार चलान भएका छन् भने मुद्दा दायर भएका केही व्यक्ति फरार रहेका र उनिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।
नेपाली कांगे्रस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाईबाट आफ्ना कार्यकर्ता रामको मृत्यु भएको दाबी सहित मृतकलाई शहिद घोषणा तथा क्षतिपूर्ति स्वरुप मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कार्बाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो । आन्दोलन अन्तर्गत कांग्रेस नेता कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबिच झडप समेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जन बढी घाईते भएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech