स्थानीय तहहरु अझैँ कानूनी रुपमा स्वयत्त भएका छैनन् : नगर प्रमुख पोखरेल

209 Shares

सिन्धुलीको कमलामाई नगरपालिका जिल्ला कै सबै भन्दा पुरानो र पहिलो नगरपालिका हो। संघीय संरचना पछि तत्कालीन अवस्थामा ठूला भनीएका दुई वटा राजनीतिक दल नेकपा(एमाले) र नेपाली कांग्रेसका जिल्ला तहका नेताहरुले नगर प्रमुखको रुपमा कमलामाई नगरपालिकाको नेतृत्व गरि सकेका  छन् ।
भौगोलिक विविधता भएको कमलामाई नगरपालिका महाभारतदेखि तराईको भू–भाग सम्म ४ सय ८२ दशमलव ५७ वर्ग किलोमिटरमा फैलिएको छ।राष्ट्रिय जनगणना २०७८ अनुसार कमलामाई नगरपालिकाको कुल जनसंख्या ७१ हजार १६ छ।नेपालमा संघीयता कार्यान्वयनसँगै स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा(एमाले)का नेता खड्ग बहादुर खत्रीले र दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका सिन्धुली सभापति उपेन्द्रकुमार पोखरेलले कमलामाई नगरपालिकाको नेतृत्व गरि रहेका छन् ।
सिन्धुलीको सबै भन्दा पुरानो र जिल्ला सदरमुकाममा रहेको नगरपालिका भएकाले पनि यहाँको विकासले विशेष महत्व राख्छ। लामो समयदेखि रानीतिक क्षेत्रमा लागेका खत्रीले नेतृत्व गरि सकेका र पोखरेलले नेतृत्व गरि रहेको कमलामाई नगरपालिकाका नगर प्रमुख पोखरेलसँग कमलामाई मिडिया प्रा.लिले कमलामाई नगरपालिकाको विकास र भावि योजना लगायतका विषयमा  गरिएको भलाकुसारीको सम्पादित अंश :
   प्र.कमलामाई नगरपालिकाको विकासका लागि तपाईको कार्यकालको करिब तीन वर्षको अवधिमा नगरबासीलाई दिगो विकास र सुशासनको अनुभूति दिलाउने गरी के कस्ता कामहरु भए ?
– कमलामाई नगरपालिका भौगोलिक विकटता भएको र ठूलो नगरपालिका हो।कृषि र पशुपालन यहाँका जनताको प्रमुख कार्य हो।मेरो नेतृत्वमा रहेको कमलामाई नगरपालिकाको टिमले यहाँको भूगोल र आवश्यकता तथा परम्परालाई निरन्तरता दिँदै उन्नत जातको होलष्टिन गाई र बाख्रा पालनको माध्यमद्वारा नागरिकको जीवनस्तर उठाउने काम सुरु गरेका छौं ।दुध र मासुमा आत्मनिर्भर नगरपालिका भएकाले पशुपालनबाट नै यहाँका नागरिकहरुको आर्थिक समृद्धि हुने अवस्था रहेकाले पहिलो प्राथमिकता कृषि र पशुपालनलाई दिएर दोस्रो प्राथमिकतामा विकास निर्माणका विभिन्न गतिविधिहरु सञ्चालन गरि रहेका छौँ ।
२०७७–०७८ मा विश्वव्यापी कोरोना भाईरस(कोभिड–१९)पछि अन्तर्राष्ट्रिय रुपमै आर्थिक मन्दि आएको कारणले हाम्रो विकासशिल देशमा जनताको इच्छा र आवश्यकता अनुसार काम गर्न समस्या भएको छ।कमलामाई नगरापालिका भौगोलिक विकटता सहितको एउटा ठूलो नगरपालिका रहेकाले हरेक ठाउँको आवश्यकता फरक–फरक छ।ठूलो क्षेत्रफल भएको नगरपालिका भएकाले भौतिक पूर्वाधारका हिसाबले प्रत्येक वडामा वडा कार्यालय,प्रशासनिक भवन निर्माण लगायत जनतालाई सहजरुपमा सेवा सुविधा दिने हिसाबले काम गरिरहेका छौं ।स्वास्थ्य सेवा घरघरमै गएर वा कुनै केन्द्र तोकेर उपचार गर्ने,सामाजिक सुरक्षा भत्तालाई पनि सर्वसुलभ र सम्बन्धीत व्यक्तिले मात्रै पाउने गर बैंकिङ प्रणालीबाट लाभग्राहीको खातामै पैसा पु¥याउने कार्यलाई प्राथमिकता दिएका छौं।लजनका कारण कमलामाई नगरपालिकाका कुनै नागरिकले अकालमा मृत्युवरण गर्नु नपरोस भनेर जलनको उपचारलाई ध्यान दिएका छौँ ।यसको अलावा एतिहाँसिक सिन्धुलीगढी,धार्मिक पर्यटकीय क्षेत्र कमलामाई लगायतका स्थानहरु कमलामाई नगरपालिका मै पर्ने भएकाले पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ । 
   प्र.कमलामाईको विकासका लागि बनाइएको योजनाहरु कार्यान्वयनमा के कस्ता चुनौति छन् ?
कमलामाई नगरपालिका देशभरका ठूला नगरपालिका मध्य पर्ने साथै भौगोलिक हिसाबले ग्रामीण क्षेत्र पर्ने भएकाले नगपालिकाले बनाएको योजना पुरा गर्न रकमको अभाव छ । आफ्नो आन्तरिक आय स्रोत नभएको र संघीय सरकारले दिएको बजेट कतौटी हुने अवस्थाले गर्दा काम गर्न अप्ठ्यारो पारेको छ।हामीले जे सोचेका छौं त्यसमा कमलामाई नगरपालिका बासीको आवश्यकता अनुसारका योजनाहरु छन्।त्यसलाई कार्यान्वयन गर्न हाम्रो आर्थिक अवस्था पनि मजबुत हुुनु जरुरी छ ।
विभिन्न समयको बाढी,२०७२ को भूकम्पलगायतले गर्दा समग्र जिल्ला नै क्षतविक्षत भएको छ ।कमलामाईको भौगोलिक विकताले गर्दा हामीले जे सोचेका छौं त्योअनुसार काम गर्न सकेका छैनौं।तर जनताको अहिलेको अवस्था सुधार्न कृषि र पशुपालनलाई प्राथमिकता दिएका छौं । भौतिक पूर्वाधार छँदै छ,त्यो निरन्तर हुने कुरा भयो।अहिले हामीसँग जति स्रोत साधन छ त्यसबाट कृषि र पशुपालनलाई जोड दिएर कसरी वैदेशिक रोजगारलाई न्यूनिकरण गर्न सकिन्छ कि भन्ने तर्फ हाम्रो ध्यान केन्द्रीत भएकोे छ । जनतलाई आत्मनिर्भर बनाउन सकिन्छ कि भन्ने लक्ष्य राखेर नगरको विकासका लागि हामी लागि परेका छौं ।संविधानले स्थानीय सरकारलाई विकास निर्माणमा स्पष्ट अधिकार दिए पनि त्यसको विपरित संघ र प्रदेशले समन्वय नगरी साना–साना योजनाहरु आफैं कार्यान्वयन गर्न अघि सर्नुले अनावश्यक भन्दा पनि दोहोरोपना,स्रोतको विखण्डन र कार्यान्वयनमा पनि जटिलता देखिँदै गएको छ ।
    प्र.कमलामाई नगरपालिकामा आउने संघीय तथा प्रादेशिक योजनाका सवालमा माथिल्ला निकायसँगको समन्वयन कति र कस्तो छ ?
वास्तवमा स्थानीय तहलाई स्वायत्त भनेपनि एकातिर स्पष्ट कानुनको अभाव अर्कोतिर संघीय र प्रादेशिक कानुनमा शक्तिको लडाइँले गर्दा मुलुकभरी नै समस्या छ।संघीय र प्रादेशिक सरकारले दिने योजनाहरु र त्यसको अनुगमन कहाँ ? कसले ? गर्ने भन्ने विषय नै अन्यौलमा छ।सिधै संघ र प्रदेशका कार्यालयहरुबाट स्थानीय  तहसंग कसनै किसिमको समन्वय नगरी बजेट सञ्चालन गर्दा त्यस्ता योजनाहरु अलपत्र पर्ने र त्यसको अपजस स्थानीय पालिकाहरु माथि पर्नै गरेको छ ।
संघीय र प्रादेशिय बजेटबाट सुरु गरिएका विकासका कामलाई अधुरो बनाएर छोड्ने कार्यले गर्दा स्थानीय तह एकदमै ठूलो मारमा परेका छन्।हामीले त्यसमा लगानी गर्न पनि सक्दैनौं । लगानी गरिहाल्यो भने पनि डबल स्ट्याण्डर हुन्छ।कानुनले पनि वर्जित गरेको छ।वास्तवमा संघ र प्रदेशका योजनाहरुमा पारदर्शि र जवाफदेही भएर काम हुँदैन।समयमै योजना सम्पन्न गर्ने कार्यमै लागेको देखिँदैन।एकातिर काम सुरु गरिदिने अनि बिचमै बिगारेर छोड्ने।त्यहाँ हामीले लगानी गर्न नपाउने अवस्था छ।स्थानीय तहलाई स्वायत्त भनिएपनि व्यवहारत  तथा कानुनी रुपमा त्यस्तो देखिँदैन् ।
स्थानीय तहलाई स्वायत्त गराएर सिधै स्थानीय तहमार्फत काम गराउने हो भने त्यसको अनुगमन पनि स्थानीय तहले गथ्र्यो।स्थानीय रुपमै स्थानीय सरकारको मागअनुसार त्यस्ता योजना अगाडि बढाउँदा सजिलो हुन्थ्यो । संघ र प्रदेशका यस्ता गतिविधिले हामीलाई धेरै ठूलो समस्या खडा गरेको छ ।
    प्र.शिक्षा,स्वास्थ्यलगायत सामाजिक सुरक्षा आमनागरिकको प्रमुख चासोको विषय भएकाले ती क्षेत्रको सुधार र प्रभावकारिताको लागि के कस्ता प्रयास भइरहेका छन् ?
हामीले आमनागरिकलाई गुणस्तरीय शिक्षा दिलाउनका लागि सबै जनप्रतिनिधि,कर्मचारीहरु र राज्यबाट सेवा सुविधा लिने व्यक्तिहरुले अनिवार्यरुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने नियम बनाएका छौं।करिब ८० प्रतिशत त्यो कार्य सफल भएको छ।जनताको सामाजिक सुरक्षाअन्तर्गत हामीले सामाजिक सुरक्षा भत्तालगायत आमजनताको चासो रहने स्वास्थ्य,शिक्षा जस्ता क्षेत्रका कार्यमा पूर्ण जवाफदेही भएर काम गरिरहेका छौं।बालकालिकालाई पूर्ण खोपको आयोजना,जेष्ठ नागरिकलाई घरघरमै पुगेर न्यूनतम् स्वास्थ्य सेवा दिन लागिरहेका छौं।अहिले शिक्षामा देखिएको सबैभन्दा ठूलो समस्या भनेको संघीय सरकारले मावि र आधारभूत तहको सीमित दरबन्दी दिने तर हाम्रा यहाँ विद्यालयहरु धेरै हुन्छन् । विद्यालयमा अपुग विषयगत शिक्षक पु¥याउनलाई स्थानीय तहले भर्ना गरेका शिक्षकको लागि नगरपालिकाले खुवाएको तलव महालेखाले बेरुजु देख्ने अवस्था छ । जनताको मनस्थितिमा त्यो बेरुजु भनेको जनप्रतिनिधिले भ्रष्टाचार ग¥यो भनेर सोच्ने अवस्था छ ।हिजो धेरै कर्मचारी राखेको ठाउँमा अहिले प्रादेशिक सरकारले नगर शिक्षाको इकाई प्रमुख पनि नपठाइदिने,एकजना शाखा अधिकृत र सुब्बास्तरको कर्मचारीबाट शिक्षा शाखा चलाउनु पर्ने अवस्था छ । यसले शिक्षामा धेरै ठूलो समस्या खडा भएको छ ।
    प्र.आयआर्जन बढाउने सीप विकास,लघु उद्यम प्रवद्र्धन,सहकारी सहयोग र बजार व्यवस्थापनका लागि कमलामाई नगरपालिकाले के कस्ता ठोस पहल गरिरहेको छ ?
हामीले हाम्रोस्तरबाट स्थानीय बजारहरुमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्नका लागि केही स्टलहरु निर्माण गरेर बेच्ने स्थानहरु पनि तोकेका छौं।संघीय सरकारबाट उपलब्ध भएको मल,बिउ लगायतलाई हामी आफैंले स्थानीय कृषि सहकारीमार्फत गाउँगाउँमा पु¥याउने काम गरेका छौं।हाम्रा कृषि र भेटेनरीका प्राविधिकहरुलाई गाउँगाउँमा खटाएर वडा वडामै राखेका छौं।तर त्यो हुँदाहुँदै पनि स्थानीयको माग एकातिर तर संघ र प्रदेशबाट आउने अनुदान अर्कातिर हुँदा समसइा सृजना हुन्छ ।
जुन ठाउँमा कागति खेती हुँदैन त्यो ठाउँमा कागति खेती भनेर संघ र प्रदेशबाट बजेट हालिएको छ ।बाख्रा पालन गर्नुपर्ने ठाउँमा भेडा पालन भनेरे भेडा पालनको अनुदान आएको हुन्छ । स्थानीयसँग समन्वय नगरी पहुँचको आधारमा आउने संघीय र प्रादेशिक कार्यक्रमले स्थानीय तहहरुलाई समस्या परेको छ।तर हामीले स्थानीयरुपमा स्थानीय हाटबजारहरु, समय–समयमा कृषि,पशुपालन मेला,प्रदर्शनीलगायतका कार्यमा जनतालाई पनि सु–सूचित गराइरहेका छौं।त्यस्तै माटो परीक्षणका कामहरु पनि गरिरहेकै छौं।माटो सुहाउँदो बाली र पशुपालनमा जोड दिएर हामी लागेका छौं ।
       प्र.नागरिकको गुनासो व्यवस्थापन प्रणाली कस्तो छ ? सेवा प्रवाहका क्रममा देखिने चुनौतिहरु कसरी सम्बोधन हुने गरेका छन् ?
स्थानीय तहमा काम गर्दै गर्दा सबैभन्दा ठूलो समस्या भनेको स्थानीय रुपमा बाटोको आवश्यकता हुन्छ तर त्यसका लागि त्यो ठाउँमा उपलब्ध गराउनुपर्ने जग्गाको व्यवस्था हुँदैन ।अहिले सामुहिक विकासभन्दा पनि स्थानीय रुपमा जनताको चाहना व्यक्तिगत विकास,व्यक्तिगत स्वार्थको विकासका लागिमात्रै अघि सर्ने परिपाटी छ।राष्ट्रियरुपमै देखिएको एउटा चुनौति नागरिकमा सामुहिकताको भावना कम हुँदै गएको छ।बाटो चाहिन्छ भन्ने जग्गा नदिने,बिजुली चाहिन्छ भन्ने पोल गाड्न नदिने,खानेपानी चाहिन्छ भन्ने ट्यांकी बनाउन नदिने अवस्था छ।सिन्धुलीमा रहेको कुल वन क्षेत्रको करिब ६६ प्रतिशत वन क्षेत्र कमलामाई नगरपालिकामा पर्छ।पोल गाड्नलाई रुख काट्नुपर्ने हुन्छ।त्यो ठाउँमा पनि जनतालाई हामीले यातायातको सुविधा दिनुपर्छ ।वनले चाँडै सिफारिस नदिँदा पनि हामीलाई समस्या भएको छ । अर्कोतिर जनतामा अपनत्वको भावना एकदम कम हुनु पनि चुनौतिको रुपमा रहेको छ ।
प्र.फोहोर व्यवस्थापन,वन संरक्षण र वातावरणी सन्तुलन कायम गर्न के कस्ता योजनाहरु संचालन भएका छन् ?
कमलामाई नगरपालिकाका आम नागरिकलाई सशक्तिकरण गर्दै युवा तथा बाल क्लवहरु खोलेर,बाल सञ्जालहरु गठन गरेर र अन्य रुपमा पनि टोल समितिहरुलाई सशक्त बनाएर फोहोरको व्यवस्थापन उचित ठाउँमा गर्नुपर्छ भन्ने उद्देश्यले दुई वटा ल्याण्डफिल साइट पनि तयार गरेका छौं।जम्मा भएको फोहोरहरु नगरपालिकाको फोहोर बोक्ने सवारी साधनले उठाउने गरेका छौं।वातावरण मैत्री सडक निर्माणका लागि केही रकम पनि छुट्याएका छौं । हामीले जुन आयोजना संचालन हुन्छ त्यसकै केही प्रतिशत रकम कटौती गरेर वातावरण संरक्षणको कार्यहरुमा जोड दिएका छौं।त्यस्तै प्लाष्टिकजन्य झोलाहरुको न्यूनिकरणलाई पनि प्राथमिकतामा राखेका छौं ।
प्र.कमलामाईलाई वित्तीय रुपमा आत्मनिर्भर बनाउँदै लैजान दीग्रो स्रोतको विकासका लागि के कस्ता ठोस पहल भइरहेका छन् ?
        कमलामाईबासीको आयआर्जन र उत्पादन बढाउने कार्यमा लागेका छौं।तर यहाँको भन्दा अन्यत्र रोजगारीमा जाँदा धेरै बढी आम्दानी हुने हुनाले युवा जनशक्तिमा वैदेशिक रोजगारीको मोह बढेको छ । हाम्रो नगरपालिकामा कलकारखना,उद्योगधन्दा जे जे खोले पनि कृषि,पशुपालन लगायत पर्यटन प्रवद्र्धनलाई जोड दिए पनि यहाँ युवाहरु बस्न सक्ने अवस्थै छैन ।अन्यत्रको मुद्रासँग नेपाली मुद्राको तुलना गर्ने अनि यहाँ बसेर हुँदैन,उतै जानुपर्छ भन्ने मानसिकताको विकासले गर्दा एकदमै ठूलो समस्या देखिन्छ।तर केही उर्जा बोकेका आफ्नै ठाउँमा पसिना बगाऔं भन्ने भावना भएका युवाहरु पनि छन्।कमलामाई नगरपालिकामा वैदेशिक रोजगारीका लागि जानको संख्या अन्यन्त्रको तुलनामा न्यून छ।अहिलेको अवस्थामा विकास निर्माण,कृषि,स्वास्थ्य,शिक्षा जस्ता विषयको अपनत्व गर्ने भावना आमनागरिकमा एकदमै कम छ।हाम्रो जस्तो भौगोलिक विकटता भएको ठाउँमा आयस्रोत बढाउन जनतालाई कर थुपार्ने अवस्था पनि छैन।अर्को कुरा जनता जतिसुकै सु–सूचित भए पनि अधिकार खोज्ने कुरामा एकदमै जिम्मेवार छन्।तर कर्तव्य निर्वाह गर्ने कुरामा आमनेपाली लाचार छन् । 
प्र.कमलामाईमा वित्तीय पारदर्शिता कायम के कसरी राख्ने काम भएको छ ?
    कमलामाई नगरपालिकामा म गर्भका साथ भन्न सक्छु त्यो खालको अवस्था छैन । विभिन्न समयमा हामीले सार्वजनिक सुनुवाईलगायत हाम्रा योजनाको पारदर्शिताको लागि सामाजिक लेखापरीक्षणका गर्छौं।हामीले अनुगमनका कार्यलाई पनि एकदम चुस्त दुरुस्त बनाएका छौं।तर दक्ष र योग्य कर्मचारीहरुको अभावका कारण स्थानीय तहहरुले चाहे अनुसारको रफ्तारमा काम गर्न सकि राखेको अवस्था छैन् ।
 कतिपय स्थानीइ तहहरुमा राजनीतिक पहुँचको आधारमा कर्मचारी पठाउने जसका कारण योग्यता क्षमता वा कार्य अनुभव कम भएका कर्मचारीहरु आउँदा त्यहाँको भूगोल,जनचाहना बुझ्नलाई नै लामो समय लाग्छ।त्यसले झन् समस्या पैदा गर्छ।तर कमलामाई नगरपालिकाको अकमा चाहिँ त्यस्तो अवस्था छैन।हाम्रा लेखाका हिसाबहरुलाई हामीले तीन÷तीन महिनामा कुन कुन शीर्षकमा कति कति खर्च भयो भनेर सार्वजनिक गर्ने र अनुगमन गर्ने लगायतका कार्यमा निरन्तर रुपमा लागेर वित्तीय पारदर्शितामा जोड दिएका छौं ।
प्र.कमलामाई नगरपालिकाको समृद्धिका आधारहरु के के हुन् ?
हामी भौगोलिक हिसाबले विकट स्थानीय तह भएकाले यहाँको समृद्धिको प्रमुख आधार भनेको कृषि,पशुपालन र पर्यटन प्रवद्र्धन नै हो।हामीसंग पर्यटकीय क्षेत्रहरु र कृषिजन्य क्षेत्र धेरै छ ।यसलाई समयानुकुल बनाउन सके हाम्रो समृद्धि यही हुने छ ।

सम्बन्धित समाचार