सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिला मोक्तान सहित पाँच जनालाई वन मुद्धा लगाएर फसाउने षड्यन्त्र सुरु गरेको भन्दै नेकपा(माओवादी केन्द्र)सर्लाही आक्रोसित भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यहाँबाट नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितलाई फसाउन नसक्ने भएपछि सरकारले नियोजित रुपमा वन मुद्धा बनाई फसाउने षड्यन्त्र गरेको भन्दै माओवादी केन्द्रले आक्रोस व्यक्त गरेको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले बताए । विरोधीहरुले बागमती नगरपालिकाको विकास देख्न नसकेर नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितको टिमलाई फसाउन विभिन्न किसिमका फण्डाहरु रचेको र अन्य कुनै फण्डाबाट उनीहरु नफस्ने भएपछि वन मुद्धा बनाई झुटो आरोपमा फसाउने षडयन्त्र गरेका कारण आफुहरु चरणवद्ध आन्दोलनको तयारीमा रहेको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज काफ्लेले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल निलम्बनमा परेका नगर प्रमुख थापा र उप प्रमुख मोक्तानलाई त्यताबाट फसाउन सक्ने अवस्था नरहेपछि कसरी हुन्छ नियोजित रुपमा फसाउने षड्यन्त्रमा लागेको वर्तमान सरकार र अन्य सरोकारवाला निकायलाई बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरीका लागि संघीय सरकार,प्रदेश सरकारका साथै अन्य सरोकारवाला निकायले के कति अनुदान तथा आर्थिक सहयोग गरेका छन् भन्ने विषयमा जानकारी हुनु पर्ने माओवादी केन्द्र सर्लाहीका नेता राज कुमार यादवले बताए।उनले सर्लाहीका अन्य पालिकाहरुका साथै देशैभरी सुकुम्बासी,दलित एवम भूमिहिन र अव्यवस्थित बसोबासीहरुको व्यावस्थापन गरिएको भएपनि बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरुका साथै कर्मचारीहरुलाई मात्रै किन मुद्धा लगाउने भन्दै प्रश्न गरे ।

सर्लाहीको बागमती सहित हरिवन,लालबन्दी,इश्वरपुर र बरहथवा नगरपालिकाका साथै अन्य पालिकाहरुमा सार्वजनिक जमिनमा सुकुम्बासी,दलित एवम भूमिहिन र अव्यवस्थित बसोबासीहरुको व्यावस्थापन गरिएको र देशैभरी सुकुम्बासी व्यावस्थापनको नाममा ठूलो भूगोल सार्वजनिक जमिन प्रयोग गरिएकोमा वर्तमान सरकार राजनीतिक तथा नियोजित रुपमा बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरुका साथै कर्मचारीहरुलाई फसाउने षड्यन्त्रमा लागेको भन्दै माओवादी केन्द्र सर्लाहीले आक्रोस व्यक्त गरेको छ ।

जिल्लाको सार्वजनिक ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार बिहीन बनाउन सरकारी स्तरबाट नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई झूटा मुद्दा लगाउने र भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबार बिहीन बनाउने षड्यन्त्रकारीहरुको विरुद्धमा माओवादी केन्द्र चरणवद्ध आन्दोलनमा जाने माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले बताए ।

उनले आफुहरुले डिभिजन वन कार्यालय लालबन्दी सर्लाही सहित कुनैपनि संवैधानिक निकायको विरोध गरेको नभई देशैभरी सार्वजनिक जमिनमा भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गरिएको भएपनि नेकपा(एमाले) र नेपाली कांग्रेसको गठबन्धनको सरकार बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरु माथि नियोजित रुपमा लागेकाले नियोजित षड्यन्त्रको विरोध गरेको र माओवादी केन्द्र सर्लाहीले चरणवद्ध रुपमा आन्दोलन गर्ने बताए ।

संघीय संरचना अनुसार तीन तहको सरकारको रुपमा रहेको स्थानीय तहले निर्माण गरेको भूमि सम्बन्धी ऐन कानूनका साथै प्रदेश र संघीय सरकारले बनाएका भूमि सम्बन्धी ऐनका आधारमा भूमि आयोग लगायतका सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्यमा आत्मनिर्भर स्थानीय सरकार बनाउने र स्थानीय युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गरी विदेशीने बाध्यता अन्त्य गर्न इमानदार भएर लागि परेका बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई झुटा वन मुद्दा बनाई फसाउने षडयन्त्र गरी लाखौँ भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई विस्थापित गर्ने प्रयास गर्नु र वन क्षेत्रको नाममा कपोलकल्पित आरोप लगाउन एमाले कांग्रेस गठबन्धन सरकार लागि परेका कारण आफुहरु सरकारको अन्यायपूर्ण र अमानवीय कदमको विरुद्ध चरणवद्ध आन्दोलनको तयारीमा रहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई मुद्धा लगाउनु भनेको लाखौँ भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई विस्थापित गर्ने तयारी गरिएकोले अवको आन्दोलन भनेको केवल व्यक्तिको मात्र नभई सम्पूर्ण भूमिहीन,दलित,सुकुम्बासी,अव्यवस्थित बसोबासीहरु र आम जनताको हक, अधिकारको रक्षाका लागि हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
सरकारले षड्यन्त्रपूर्ण गतिविधि नरोके नेपाली जनताको हितमा कुनै पनि स्तरको आन्दोलन गर्न तयार हुने माओवादी केन्द्र सर्लाहीले चेतावनी दिएको छ।जनताको अधिकारको रक्षा माओवादी केन्द्रको पहिलो प्राथमिकता रहेकाले साथ र सहयोग गर्न जनसमुदाय,राजनीतिक दल र नागरिक समाज लगायत अन्य सरोकारवाला निकायलाई अनुरोध गरिएको माओवादी केन्द्र बागमती नगर कमिटि अध्यक्ष चित्र त्रहादुर तम्सिङ(कुमार)ले बताए ।
यता,अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको निर्णय एवम सुझाब बमोजिम संघीय वन तथा वातावरण मन्त्रालय,वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश तथा सागरनाथ वन विकास परियोजना सर्लाहीबाट आवश्यक कानूनी कार्बाही बढाई दिन भनि डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई लिखित पत्र आएपछि कार्यालयबाट अनुसन्धान अधिकृत तोकी सोही अनुसार अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए।उनले आफुहरुलाई माथिल्लो निकायबाट पत्र आएपछि सोही अनुसार अनुसन्धान सुरु गरेको र अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय सर्लाहीमा प्रतिवेदन पेश गरिने र सरकारी वकिल कार्यालय सर्लाहीले प्रतिवेदन अध्यायन गरी के कस्तो कार्बाही गर्ने भन्ने निष्कर्ष निकाल्ने बताए।
उनले सागरनाथ वन विकास परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण भएको सम्बन्धमा सरोकारवाला सबैले अनुसन्धान समेत गरि रहेका र प्रक्रिया सुरु भएपछि जो डिभिजन वन अधिकृत आएपनि मुद्धा दायर हुने बताए।उनले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान लगायतका जनप्रतिनिधिहरुका साथै कर्मचारीहरुलाई फसाउने वा अन्य कुनै गलत नजरले नरहेको समेत बताए ।