हरिपुर नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख काफ्ले सहित १० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर

122 Shares

सर्लाहीको हरिपुर नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख सहित १० जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।हरिपुर नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख रेणुकादेवी काफ्ले सहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
तत्कालीन नगर उप प्रमुख काफ्ले सहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल,इन्जिनियर रंजित साह र सव–इन्जिनियर सञ्जीव चौधरी,सदस्य वेदकुमारी बलम्पाकी र लक्ष्मी कुमर,हरिपुर नगरपालिका १ का तत्कालीन वडा अध्यक्ष कुमार लामा,उपभोक्ता समितिका पदाधिकारीहरू शम्शेरबहादुर बस्नेत,इन्द्रबहादुर घिसिङ र निर्मला कुमारी देवी गरी १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।लखनदेही खोलामा तटबन्ध निर्माणको काम नै नगरी नगरपालिकाबाट भुक्तानी गरिएको आरोपमा सोमबार(आज) विशेष अदालत काठमाडौंमा उप प्रमुख काफ्ले सहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गरेको/गराएको र त्यस्तो निर्माण कार्यलाई गुणस्तरीय,शर्त तथा मापदण्ड बमोजिम भएको हो भनी प्राविधिक मूल्यांकनसहितको नापी किताब,कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवम स्वीकृत गरी उपभोक्ता समितिलाई रु ८५ लाख १८ हजार छ सय ३१ भुक्तानी दिई सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अख्तियारले दायर गरेको आरोप–पत्रमा दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा अनियमितता भएको आयोगको दाबी छ ।चार हजार आठ सय १२ दशमलव ५० वर्ग मिटरको ग्याबिन बक्सको प्रयोग गर्ने लागत अनुमान तोकिएकोमा तीन हजार चार सय ९५ दशमलव १५ वर्ग मिटरको परिमाणमा निर्माण गरिएको आयोगले जारी गरेको प्रेस विज्ञप्तमिा उल्लेख गरिएको छ ।
त्यस्तै लागत अनुमानमा आठ हजार चार सय घन मिटरको माटो पुर्ने काम तोकिएकोमा सो भन्दा बढी गरी १४ हजार सात सय घनमिटरको परिमाणमा भएको पाइएको आयोगको दावी छ। ढुंगाको कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटबन्ध कमसल हुन पुगेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार