१३ बुँदे माग राख्दै तीनपाटनका स्वास्थ्यकर्मीहरु आन्दोलित,गाउँपालिकासंग ७ दिनको समय सीमा

176 Shares

सिन्धुलीको तीनपाटन गाउँपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले सेवा–सुविधा, कर्मचारी व्यवस्थापन र वृत्ति विकाससँग सम्बन्धित विभिन्न माग राख्दै गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण तथा ज्ञापन–पत्र बुझाएका छन् ।नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सीमित स्रोतसाधनका बीच निरन्तर खटिँदै आएका आफुहरुकोे समस्या सम्बोधन गर्न आग्रह गर्दै १३ बुँदे माग सहित स्वास्थ्यकर्मीहरूले ज्ञापन–पत्र बुझाएका हुन्।स्वास्थ्यकर्मीहरूले पालिकाभित्र कार्यरत कर्मचारी व्यवस्थापनमा देखिएका कमजोरी,सरुवा प्रक्रियामा समस्या तथा सेवा प्रवाहमा परेको प्रभावबारे गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
सेवा–सुविधाका विषयमा आवाज उठाएकै कारण स्वास्थ्य शाखा प्रमुखको अगुवाइमा पटक–पटक सरुवा गरिएको स्वास्थ्यकर्मीहरूले ज्ञापन–पत्रमा आरोप लगाएका छन्।उनीहरूले एक महिनाको अवधिमै दुई पटकसम्म सरुवा गरेर कर्मचारीलाई मानसिक दबाब दिने अवस्था सिर्जना गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीका सिनियर अहेव मदन विक्रम दाहालले बताए । उनले पटक–पटक छलफल र माग राख्दा पनि समस्या समाधान नभएपछि बाध्य भए र ज्ञापन पत्र बुझाउनु परेको बताए ।
स्वास्थ्यकर्मीहरूले स्वास्थ्य शाखा प्रमुखले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको र कर्मचारी व्यवस्थापन प्रभावकारी नहुँदा कतिपय स्वास्थ्य संस्थामा आधारभूत सेवा सञ्चालनमै कठिनाइ भएको उल्लेख गरेका छन्।स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न पटक–पटक जानकारी गराउँदा समेत पर्याप्त पहल नभएको उनीहरूको गुनासो छ ।
गाउँपालिकालाई बुझाइएको ज्ञापन–पत्रमा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी कार्यसम्पादन क्षमता,दक्षता,अनुभव र प्रचलित नियमअनुसार योग्यताका आधारमा तोकिनुपर्ने माग गरिएको छ।यस्तै,स्वास्थ्यकर्मीको काज तथा सरुवा गर्दा तालिम,अनुभव,योग्यता,घरपायक अवस्था, दरबन्दी,तह र कार्यक्षमताका आधारमा पदस्थापन गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।
त्यसैगरी,अतिरिक्त समयमा सेवा दिएका स्वास्थ्यकर्मीलाई नियमअनुसार सट्टा बिदा उपलब्ध गराउनुपर्ने वा सट्टा बिदा दिन नसकिएको अवस्थामा एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरिएको छ।स्वास्थ्य शाखा प्रमुखको आर्थिक वर्ष २०८२/०८३ को भ्रमण सम्बन्धी सम्पूर्ण विवरण,भ्रमणको उद्देश्य,प्रतिवेदन तथा भ्रमण भत्ताको विवरण सार्वजनिक गर्न पनि स्वास्थ्यकर्मीहरूले माग गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले आफुहरुका माग सात दिनभित्र सम्बोधन गर्न गाउँपालिकासँग आग्रह गरेका छन्।माग पूरा नभए आगामी दिनमा थप संघर्षका कार्यक्रम घोषणा गरी सेवा प्रभावित हुन सक्ने उनीहरुले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार