नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरुको बैठकले प्रदर्शनमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको प्रवक्ता अग्नी प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार बैठकले घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ।भ्रष्टाचार र बेथिति विरुद्ध “जेन जी” पुस्ताले सोमबार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु र करिब चार सय जना घाईते भएपछि माओवादी केन्द्रकोे आकस्मिक बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेको हो ।
बैठकले प्रदर्शनको क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति मंगलबार बेलुका पाँच बजे सात सय ५३ वटै पालिकामा श्रद्धाञ्जली सभा राख्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले बताए ।“सरकारले इतिहासकै क्रूर नरसंहार गरेको छ।प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ । “जेन जी” पुस्ताको जायज मागप्रति माओवादी केन्द्रको ऐक्यबद्धता छ।”बैठकको निर्णय सुनाउँदै उनले भने ।