Close This

भारतीयलाई छोरा बनाएर नागरीकता दिलाउने भण्डारी प्रहरीको नियन्त्रणमा 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१ गते   ३४३३ पटक हेरिएको

झुठा विवरणका आधारमा नागरिकता बनाइदिने एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । बरथवहा नगरपालिका–२ घर भई हाल हरिवन नगरपालिका–१० ताईवान सुकुम्वासी टोल बस्ने ५२ वर्षीय गिर्ज बहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो।
२०७६ पुस ३ गते झुठा विवरणको आधारमा भारतीय नागरिकलाई आफ्नो छोराको नाम दिएर नागरिकता बनाइदिएको हल्ला चलेपछि फरार भएका भण्डारीलाई बुधबार पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौले बताउनु भयो । नेपाली नागरीकता लिने भारतीय नागरिकलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।
झुटा विवरण पेश गरेर भारतको सितामढी बगमढी ग्राम पञ्चायत घर भएका २५ वर्षीय सिताराम सिंह राजपुतलाई आफ्नो छोरा भन्दै निरज भण्डारी नाम राखेर भण्डारीले नेपाली नागरिकता दिलाइ दिएका थिए । ८ महिनासम्म फरार रहेका भण्डारीलाई जिल्लामै लुकिछिपी बसेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको प्रउ राठौरले बताउनु भयो ।
भारतीय नागरिक छोरा भएको बताउँदै राजपुतबाट मोटो रकम लिएर भण्डारीले नागरिकता दिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रउ राठौरले बताउनु भयो । प्रहरीसँगको सोधपुछको क्रममा राजपुतले ना.प्र.नं. १९–०७–७६–०३१३३ नागरिकता गिर्ज बहादुर भण्डारीको छोरा बनेर लिएको बयान दिएका थिए । राजपुतको बयानको आधारमा भण्डारीलाई प्रहरीले खोजी गरि रहेको थियो । 
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटको कमाण्डमा खटिएको प्रहरीको टोलीले नागरिकता बनाइदिने भण्डारीलाई पक्राउ गरेको हो । भण्डारीविरुद्ध २०७६ पुस ४ गते अदालतमा मुद्दा दायर भएको थियो । नागरिकता ऐनअनुसार झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशीलाई १ वर्षदेखि ५ वर्ष कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ । 
यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको कमाण्ड सम्हाल्न प्रउ राठौर आएपछि जिल्लामा गैर कानूनी क्रियाकलाप गर्नेहरुको निदहराम भएको छ । भने धमाधम पक्राउ पर्न थालेका छन । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech