सर्लाहीको विष्णु गाउँपालिका १,बारा उद्योरण गाउँ आगलागीबाट ७५ वटा घरजलेर सखाप भएपछि स्थानीयको बास खुल्ला आकाश मुनी बास भएको छ ।बैशाख २० गते बिहीबार दिउँसो अचानक भएको आगलागीबाट विष्णु गाउँपालिका १,बारा उद्योरण गाउँमा ७१ वटा घर पूर्णरुपमा र चार वटा घर आंशिक रुपमा गरी ७५ वटा घर जलेका प्रहरीको रिपोर्टले देखाएको थियो ।
आगलागीपछि घरसहित घरभित्रका सम्पूर्ण सरसामग्री जलेर खरानी हुँदा स्थानीय वासिन्दामा रुवाबासी रोकिएको छैन् भने के खाने कहाँ बस्ने भन्ने चिन्ता सहित खुल्ला आकाशमुनी बास भई रहेको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार शत्रुधन राउतको घरमा ग्याँस सिलिण्डर पड्किएर सुरु भएको आगलागीले पूरा बस्ती ध्वस्त भयो ।आगलागी लगत्तै घटनास्थलमा दमकल पुग्न नसक्दा पूरै गाउँ जलेर खरानी हुन पुगेको स्थानीयको गुनासो छ ।
आगलागी भएर बस्ती सखाप भएपछि मात्रै हरिवनसहित महोत्तरीको सम्सी,रामगोपालपुर तथा मधेश प्रदेश प्रहरी गण जनकपुरको दमकल घटनास्थलमा पुगेको थियो ।नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना केही समय अगाडि नै पुगेपनि व्यापक रुपमा फैलिएको आगलागी नियन्त्रणमा ल्याउन सम्भव भएन ।
पीडितलाई राहतस्वरुप तत्काल त्रिपाल,भाडावर्तन र थोरै परिमाणमा भएपनि खाद्यान्न वितरण भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए तर ७५ घर जलेर नष्ट भएकाले सबैलाई राहत सामाग्री पुग्न नसकेको स्थानीय जानकारहरु बताउँछन् ।