सर्लाहीमा २२ हजार भन्दा बढी मतदाता थपिएका छन्।फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोतिएपछि असोज १० गतेबाट मंसिर ५ गते सम्म मतदाता नामावली संकलन गरिएकोमा २२ हजार पाँच सय ७९ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवम जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले बताए।
उनका अनुसार मतदाता नामावली सम्वन्धी अध्यादेश जारी भएदेखि मंसिर ५ गतेसम्म थपिएका २२ हजार पाँच सय ७९ नयाँ मतदातामा छ हजार चार सय ८४ जनाले सदरमुकाम मलंगवा स्थित निर्वाचन कार्यालयमै पुगेर नामावली दर्ता गराएका हुन् ।कार्यालयमा आएर बायोमेट्रिक दिइ नामावली दर्ता गराउने भन्दा अनलाइनबाट दर्ता गराउने सेवाग्राही १६ हजार ९५ जना रहेका छन्।
सर्लाहीमा निर्वाचन घोषणा भएपछि थपिएका २२ हजार पाँच सय ७९ मतदाता बाहेक यसअघि चार लाख ९० हजार चार जना मतदाता रहेका थिए ।अब पाँच लाख १२ हजार पाँच सय ८३ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि मंसिर २१ गतेदेखि २७ गतेभित्र निवेदन दिन सक्ने उल्लेख गरेको छ।
भने,फागुन २१ गतेको निर्वाचनको तयारी स्वरुप जिल्ला सुरक्षा अधिकारी र निर्वाचन कार्यालयको टोलीले मतदानस्थलहरुको निरीक्षण सुरु गरेको जिल्लास्तरिय सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।चार वटा प्रतिनिधि सभा निर्वाचन रहेको सर्लाहीको क्षेत्र नम्बर १ मा ७८,२ मा ७७, ३ मा ७६ र क्षेत्र नम्बर ४ मा ८१ गरी कुल तीन सय १२ मतदान स्थल र छ सय मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।