सर्लाहीको लालबन्दी नगरपालिका कार्यालय र नगरपालिकाका सवारीसाधनहरुमा ताेडफाेड तथा आगजनी भएकाे छ ।"जेन-जी" पुस्ताले लालबन्दी नगरपालिका कार्यालयमा आगजनीसहित भिड अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे छ ।
प्रदर्शनकारीहरुकाे भिडले लालबन्दी नगरपालिका कार्यालय सहित नगरपालिकाका सवारीसाधनहरु, ईलाका प्रहरी कार्यालय लालबन्दी प्रयाेग गर्ने एउटा सरकारी माेटरसाईकल समेतमा आगजनी र ठूलाे भाैतिक क्षेती भएकाे छ । त्यस्तै नवलपुर चाेकस्थित प्रहरी चेकपोष्ट,ट्राफिक प्रहरी चाेकपाेष्ट र पार्क लगायत स्थानमा समेत प्रदर्शनकारीहरुले ताेडफाेडसहित आगजनी गरेका छन् ।
भिड अनियन्त्रित भएका कारण लालबन्दी नगरपालिका क्षेत्रमा मंगलबार दिउँसाे १ बजेदेखि अर्काे सूचना नआउञ्जेल प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले कर्फ्यू आदेश जारी गरेका छन् ।कर्फ्यू आदेश जारी भएपछि लालबन्दी बजार क्षेत्रमा र्याली, जुलुस एवम दुई वा दुई भन्दाबढी समूहमा हिँडडुलमा प्रतिबन्ध लगाइएकाे प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।
जेन जी आन्दाेलनकारीहरुकाे भिड मलंगवास्थित सर्लाही जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सर्लाही तर्फ अगाडी बढेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले दर्जनाैं सेल अश्रुग्याँस प्रहार गरेकाे छ । प्रदर्शनकारीहरु ढुंगामुढासहित अदालत र प्रशासन कार्यालयतर्फ आक्रामक ढंगले अगाडी बढेपछि स्थिती नियन्त्रणका लागि अश्रुग्याँस प्रहार गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हाल स्थिती केही साम्यजस्ताे देखिएपनि प्रदर्शनभने जारी रहेकाे स्थानीय प्रत्यक्षदर्शीले बताए । प्रदर्शनका क्रममा दुइजना घाइते भएकाे बताइएकाे छ । यद्यपी घाइतेकाे विवरण भने अझै खुल्न सकेकाे छैन ।