जिल्ला प्रशासन कार्यालय सिन्धुली सहित छ कार्यालयले गरे स्वतःप्रकाशन

442 Shares

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेको छ ।सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम सबै सार्वजनिक निकायहरुले प्रत्येक तीन÷तीन महिनामा अद्यावधिक गरी स्वतःप्रकाशन गर्नु पर्ने प्रावधान भएअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए ।
२७ जनाको स्वीकृत दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा २१ जना विभिन्न तहका कर्मचारीहरु रहेका र छ जनाको दरवन्दी रिक्त रहेको भएपनि जिल्लाको शान्ती सुरक्षा,अमन चयन कायम गराउने काममा कुनै कसर बाँकी नराखेको सहायक प्रमुख जिल्ला अधिकारी अनुप भण्डारीले बताए ।
कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ४२ वटा संस्था नविकरण गर्दा एउटा संस्था दर्ता गरेको,५६ जना बालबालिकालाई नावालक परिचय पत्र  वितरण गरेको,२० वटा ठाडो उजुरी परेका,दुई वटा हातहतियार नविकरण गरेको,एक सय ७७ वटा जनजाति÷दलित÷मधेशी सिफारिस गरेको कार्यालयका प्रशासकीय अधिकृत प्रवीण कटवालले जानकारी दिए ।
उनका अनुसार एक हजार नौ सय ३४ वटा नयाँ नागरिकता वितरण र एक हजार छ सय ९८ वटा नागरिकताको प्रतिलिपी वितरण गरिएको छ भने एक हजार सात सय ९८ वटा राहदानी सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा विभिन्न किसिमका ६२ वटा उजुरी परेका र २१ हजार तीन सय ९० वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको प्रशासकीय अधिकृत रिशिराम पौडेलले बताए ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा तीन जनाको सवारी दुर्घटनामा र तीन जनाको दैविक प्रकोपबाट मृत्यु,१७ जना दैविक प्रकोपबाट घाईते,एउटा घरमा आलगाली,दुई जनाको करेन्ट लागेर मृत्यु,१२ जनाले अत्महत्या गरेका साथै सर्पले डसेर एक जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले प्रकाशन गरेको स्वतःप्रकाशनमा उल्लेख गरिएको छ ।
यससंगै सिन्धुलीका ४३ वटा कार्यालयहरु मध्य हाल सम्म छ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका छन् ।
२० वटा संघीय,१४ वटा प्रादेशिक कार्यालयहरु र नौ वटा स्थानीय तहहरु गरी ४३ वटा कार्यालयहरु रहेको सिन्धुलीका दुईवटा संघीय,तीन वटा प्रादेशिक र एउटा स्थानीय तहले मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाईका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी भूसालले जानकारी दिए ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ अनुसार आर्थिक वर्ष सुरु भएको रहेक तीन महिनामा हरेक नागरिकलाई सूचना उपलब्ध गराउने र कार्यालयको गतिविधिहरु सार्वजनिक गर्नु पर्ने भएपनि सिन्धुलीका ३७ वटा कार्यालयहरु त्यसबाट चुकेका जिल्ला अनुगमन ईकाइका सदस्य एवम जिल्ला समन्वय समिति सिन्धुलीका समन्वय अधिकारी तिर्थराज पौडेलले बताए।उनका अनुसार जिल्लाका सबै सार्वजनिक निकायहरुलाई पत्राचार गरी समयमै स्वतःप्रकाशन गर्न भनिभएको भएपनि हाल सम्म जिल्ला प्रशासन कार्यालय सिन्धुली,जिल्ला हुलाक कार्यालय सिन्धुली,पूर्वाधार विकास कार्यालय सिन्धुली,फिक्कल गाउँपालिका सिन्धुली,शहरी विकास तथा भवन कार्यालय सिन्धुली र नापी कार्यालय सिन्धुलीले मात्रै स्वतःप्रकाशन गरेका छन् ।
सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाइले जिल्लाका सबै सरकारी कार्यालयहरु,बैँक तथा वित्तिय संस्थाहरु,बीमा कम्पनीहरुका साथै सरकारी तथा गैर सरकारी संघ÷ संस्थाहरु, सार्वजनिक संस्थान÷शैक्षिक संस्था र उपभोक्ता समितिहरुलाई समेत परिपत्र गरी सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम हरेक तीन तीन महिनामा स्वतःप्रकाशन गर्न भनिएको जिल्ला अनुगमन ईकाईका सदस्य एवम जिल्ला हुलाक कार्यालय सिन्धुलीका हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।

सम्बन्धित समाचार