नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवम सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताए।माओवादी केन्द्र सर्लाही क्षेत्र नम्बर ४ ले बलरामा आज(शनिबार)आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनता मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे ।
मिटरब्याज पीडित मजदुर किसानका समस्या समाधान गर्न र नागरिकता विहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको बताउँदै उनले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम एवम बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।
तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले भने, “मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्व बढ्दैन,जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन,त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।”
मधेसका जनताको मुक्तिका लागि मधेशका जनताले ठुलो त्याग गरेको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले जनताका मुक्तिका लागि संघर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गर्दै बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।