नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ ।माओवादी केन्द्रबाट मधेश प्रदेश सरकारकाे उद्योग बाणिज्य तथा पर्यटन मन्त्री बनेका युवराज भट्टराई(समीर) र विना विभागीय मन्त्री भरत प्रसाद साहले संयुक्त रुपमा राजिनामा दिँदै मधेश सरकारलाई माओवादी केन्द्रले दिएकाे समर्थन फिर्ता लिएका हुन ।

"मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको सविधानको धारा १६८ अनुसार नेकपा (माओवादी केन्द्र) को समर्थन रहेकोमा आजकै मितिबाट समर्थन फिर्ता लिईएको जानकारी गराउंदछाैँ ।" माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका विना विभागीय मन्त्री साहले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री,मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,जनकपुरधाम र मधेश प्रदेश सभा सचिवालय,जनकपुरधामलाई बाेधार्थ दिएर मधेश प्रदेश सरकारलाई दिएकाे समर्थन समेत फिर्ता गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । माओवादी केन्द्रले सराेज यादवलाई मुख्य मन्त्री बनाउन समर्थन गर्दा भएको सहमति कार्यन्वयन नभएको भन्दै पटक पटक आपत्ति जनाउँदै आएकाे थियाे ।