सर्लाहीमा विभिन्न तीन स्थानमा गयराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।जिल्लाकाे ईश्वरपुर नगरपालिकास्थित बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका २,पर्ती बजार नजिकै रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार प्रदेश–२–०३–०२१ प ११६८ नम्वरको मोटरसाइकल ज १ त ५१९० नम्वरको ट्याक्टरमा ठोक्किँदा ईश्वरपुर नगरपालिका १० स्थित बेलाका माेटरसाईकल चालक अन्दाजी २९ वर्षीय सन्जित कुमार साहको घटनास्थलमै मृत्यु भएको छ । यस्तै,जिल्लाको बरहथवा नगरपालिका १४, लालदियरमा बा ४० प ८९९५ नम्वरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
दुर्घटनामा साइकल यात्री बरहथवा नगरपालिका १४ का अन्दाजी ५५ वर्षीय हरिनारायण महतो,उनका नाती अन्दाजी दुई वर्षीय आकाश महतो,बरहथवा नगरपालिका १२ का अन्दाजी २१ वर्षीय माेटरसाईकल चालक रुपचन राम र पछाडि सवार साेही ठाउँका अन्दाजी २४ वर्षीय शिवेक कुमार महतो घाइते भएका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।प्रहरीका अनुसार घाइते चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
त्यस्तै पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा प्रदेश २–०३–००१ च ४००८ नम्वरको खाली पिकअप तीव्र गतिका कारण अनियन्त्रित भइ पल्टिँदा चालक र सहचालक घाइते भएका छन् । बर्दिवासबाट फूलजोरतर्फ आइरहेको पिकअप दुर्घटना हुँदा पिकअपका चालक सिन्धुलीको दुधौली नगरपालिका ४,डकहाका अन्दाजी २३ वर्षीय शान्तिप्रसाद तिमल्सिना र सह चालक सोही ठाउँका अन्दाजी १९ वर्षीय रोहन लामिछाने घाईते भएका ईलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासले जनाएको छ।