मापदण्ड विपरित खुलेका क्रसर उद्योगका कारण चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।वन,वनस्पति र वन जन्य जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृंखलाबाट बग्ने नदीनालाको अत्याधिक दोहन तथा ढुंगा,गिट्टी,बालुवाको अवैध रूपमा उत्खनन् तथा सङ्कलन गर्ने काम बढ्दै गएकाले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो ।
समुन्द्री सतहदेखि ६१० मिटर उचाइबाट शुरु भएर १८७२ मिटर उचाइसम्म फैलिएको भू–क्षेत्रलाई चुरे क्षेत्र भनिन्छ।चुरे क्षेत्र जैविक र प्राकृतिक दृष्टिकोणबाट अति नै महत्वपूर्ण र उपयोगी क्षेत्र हो।हावापानी समशितोष्ण किसिमको भएकै कारण यहाँ विभिन्न प्रजातिको वन्यजन्तु पाइन्छन्।यहाँ साल,सिसौं,खयर,अमला,हर्रो,बर्रोजस्ता औषधिजन्य बहुउपयोगी बिरुवा पनि प्रशस्त पाइन्छ।जैविक विविधता तथा प्राकृतिक सम्पदाको कमजोर भू—बनोटका कारण चुरे वनलाई एक संवेदनशील क्षेत्रको रूपमा लिने गरिन्छ।यो भौगोलिक,प्राकृतिक र जैविकलगायत सम्पूर्ण क्षेत्रबाट बहुउपयोगी मानिन्छ।तराईको उर्वर भूमिलाई सिंचित गर्नका लागि पानीको मूल श्रोतको रूपमा रहेको चुरे वन क्षेत्र नेपालको ठूलो जनसङ्ख्याको जनजिविकाको मुख्य आधार स्रोत पनि हो ।
सर्लाही सहित तराई मधेशका ३६ वटा जिल्लालाई चुरे संरक्षित जिल्ला भनेर नेपाल सरकारले घोषणा गरेको र यी जिल्लाहरुमा नदी जन्य पदार्थहरुका साथै चुरे दोहन तथा उत्खनन् गर्न नपाईने उल्लेख गरेको छ,तर रक्षक नै भक्षक भएपछि नदीजन्य र वन जन्य पदार्थको दोहनका साथै जिल्लाका सार्वजनिक तथा वन क्षेत्रका जमिनहरु नदी जन्य पदार्थहरुको संकलन केन्द्रहरु अहिले सरोकारवाला निकायलाई दुहुनो गाई भएको छ ।
“जिल्लाको कूल क्षेत्रफल एक लाख २५ हजार नौ सय ४८ हेक्टरमध्ये १३ हजार आठ सय ६८ हेक्टर अर्थात् १३ दशमलव नौ प्रतिशत चुरे क्षेत्रमा पर्छ ।ढुंङ्गा,गिट्टी र बालुवा निकासी चुरेबाट नै भइरहेको छ ।चुरेमा धेरै खहरे खोला छन्।अधिकांश विकासका काम चुरे तथा वन क्षेत्र नष्ट गर्ने गरी भइरहेका छन्।चुरे क्षेत्र बचाउन निकै प्रयास गर्दा पनि सम्भव हुन नसकेको ”पर्यावरण अभियान्ताहरुको गुनासो छ ।
जिल्लाको आधाभन्दा बढी वन क्षेत्र ओगटेको चुरेमा कमजोर भू–बनोटका कारण हुने भू–क्षयले वर्सेनी सयौँ बिग्घा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको र खानेपानीको समस्या उस्तै विकराल बन्दै गएको छ ।चुरे क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउना साथ सबै बग्ने साथै पानीको सहत दिनप्रतिदिन मासिदै गएकाले मधेश चाँडै मरुभूमि हुने पर्यावरण अभियान्ताहरुको भनाइ छ।उनीहरुका अनुसार वन पैदावार र ढुंगा,बालुवा र गिट्टीका लागि चुरे क्षेत्र उपयोग गर्दा जिल्लाको चुरेफेदीका बस्तीहरु र खेतीयोग्य जमिन बगर बन्दै गएको छ ।
चुरे दोहन गरी ढुंगा,बालुवा र गिट्टी निकासी भन्दै क्रसर उद्योगहरूमा अन्य धेरै चुरे पहाडहरु निर्माण भएका छन्।जिल्लाको चुरे खहरेबाट दशकअघि अवैध ढुंगा संकलन गरी भारत निकासी गरेको मार अहिलेसम्म पनि स्थानीयले व्यहोरि रहेका छन्।पछिल्लो पटक चुरे क्षेत्रमा एकातिर खहरे बढेका छन् भने अर्कोतर्फ खेतीयोग्य जमिन बगर बनेको छ ।यससँगै सुक्खा मौसममा खानेपानीको हाहाकार हुने गरेको छ ।
सर्लाहीमा पुर्वमा महोतरीको सिमानादेखि पश्चिममा रौतहटको सिमाना सम्म करिब ६० किलोमिटर क्षेत्रमा चुरे पहाड पर्छ ।सडक बिस्तार,नदी दोहनले चुरे क्षेत्र कमजोर भएकाले उत्खनन् भन्दा संरक्षणमा जोड दिनुपर्ने भएपनि सरोकारवाला निकाय नै कमिसनमा लुप्त हुँदा दिन दु गुणा,रात चार गुणा नदीजन्य पदार्थ अवैध तरिकाले दोहन भई रहेको छ ।जिल्लामा सागरनाथ वन विकास परियोजना छ हजार छ सय ६९ दशमलव १५ हेक्टर, सामुदायिक वन १३ हजार सात सय ३८ हेक्टर,धार्मिक वन छ दशमलव ६४ हेक्टर, कवुलियती वन ६४ दशमलव १४ हेक्टर,साझेदारी वन पाँच हजार चार सय ३१ दशमलव ४२ हेक्टर र राष्ट्रिय वन तीन हजार आठ सय २७ दशमलव ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
यता,राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम रेल मार्गको ट्रयाक निर्माणको काम गरिरहेको गजुरमुखी निर्माण सेवा प्रा.लीले पनि रेल्वेको ट्रयाक बनाउने बाहनामा ठेक्का लिएर वा अन्य समयमा पनि चुरे तथा नदीजन्य पदार्थ अन्यन्त्र बिक्री गर्ने गरेको पाइएको छ।बढ्दो जनघनत्वका कारण वन पैदावारमा अत्यधिक चाप रहेकाले चुरे वन विनाश बढ्दोे छ ।
क्षयीकरणले पर्यावरणीय समस्या समेत देखा पर्न थालेको छ।बेलैमा सतर्कता नअपनाइए मधेश प्रदेशले पर्यावरणीय सङ्कट झेल्नुपर्ने अवस्था आउन सक्ने विज्ञहरुको चेतावनी छ।सरकारले चुरे संरक्षणका लागि लाखौं रुपैयाँ खर्चेर राष्ट्रपति तराई चुरे मधेश विकास संरक्षण समिति गठन गरेको भएपनि वन जङ्गल र खोला किनारमा अवैध रूपमा क्रसर उद्योग खुल्ने तथा चुरेका साथै नदीहरु दोहन हुँदा चुरे संरक्षणमा चुनौती बढ्दै गएको छ ।
सर्लाहीका विभिन्न जनप्रतिनिधिहरुका साथै स्थानीय विभिन्न राजनीतिक दलका नेताहरुले बालुवा प्रशोधन केन्द्रको नाममा क्रसर उद्योग सञ्चालन गरि रहेका भएपनि जिल्लाका सरोकारवाला निकाय तैँ चुप मै चुप रहेका छन् ।सर्लाहीको इश्वरपुरमा दुई वटा,लालबन्दीमा एउटा,बागमतीमा सात वटा,हरिपुरमा दुई वटा,बरहथवामा छ वटा र बसबरियामा दुई वटा क्रसर उद्योग रहेको तथ्यांक जिल्ला सरोकारवालाहरुसंग रहेपनि हामीलाई प्राप्त भएको तथ्यांकमा सर्लाहीमा २४ वटा क्रसर उद्योगहरु रहेका छन्।जसमा हाल पनि १३ वटा क्रसर उद्योगहरु सञ्चालनमा रहेका सो तथ्यांकमा उल्लेख गरिएको छ ।
अवैध रूपमा बालुवा,गिट्टी उठाउने गरेका कारण वन जङगल विनास भइरहँदा समेत सरोकारवाला निकाय यसलाई रोक्नका लागि गम्भीर नेदेखिएका कारण समस्या झन बढ्दै गएको छ ।वन विनास अत्यधिक रूपमा बढेको छ भने क्रसर उद्योगले जथाभावी रूपमा नदीबाट बालुवा,ढुङ्गा र गिट्टी निकाल्ने गर्दा तटबन्ध समेत जोखिममा पर्ने जानकारहरु बताउँछन्
“ढुङ्गा,गिट्टी र बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” अनुसारको दुरी कायम नगरी आफुखुसी दादागिरी शैलीमा नदीजन्य पदार्थको उत्खनन् भई रहेको छ ।चुरे क्षेत्रबाट अनियन्त्रित तरिकाले उत्खनन् गरिएपछि नदी तथा खोलाको बहाव परिवर्तन हुने सम्भावना छ।चुरे क्षेत्रमा जथाभावी रूपमा बढेको क्रसर उद्योगका कारण तराईमा भू–क्षयको जोखिम उच्च रहेको र यसलाई रोक्न ठोस नीतिको आवश्यकता रहेको स्थानीय जानकारहरु बताउँछन् ।
के भन्छन् चुरे विज्ञ ?
अहिले बस्ती–बस्ती सखाप पार्नेगरी बढेको बाढीको जोखिमको निदान शिरबाट नै खोज्नुपर्ने चुरे संरक्षण अभियान्ता(पर्यावरण अभियान्ता)डा विजयकुमार सिंहले बताए।चुरे विषयमै विद्यावारिधि गरेका डा.सिंहले चुरे श्रृंखलामा बढेको अव्यवस्थित बसोबास,विकासका नाउँमा सडक विस्तार गर्न वैज्ञानिक अध्ययनबिना नै पहाड भत्काउने बढ्दो लहर,चुरे र नदीमा हुने निरन्तरको अनियन्त्रित उत्खनन,खोल्सी व्यवस्थापनमा देखिने उदासीनता र वन विनाश नै बाढी र पहिरोका मुख्य कारण बनेको उहाँको भनाइ छ ।
“अहिले त केही बस्ती जोखिममा रहेको,केही घर बाढीले लगेको र केही जग्गा कटान भएको समस्या सुन्दैछौँ”,डा सिंहले भने,“चुरे पहाडी शृंखला,नदी र वनमा हुने लुछाचुँडी तत्काल नरोकिने हो भने सिङ्गो भावर कटान र मधेश डुबानमा पर्नेछ,यहाँका खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुनेछन्।”
“खै यी खोला खन्ने ठेकेदार र क्रसर सञ्चालकको तारतम्य कताकता जोडिएको छ, बुझ्नै गाह्रो ”,एक स्थानीयले भने,कागजले चेतावनी दिएर मात्र नभई अनियन्त्रित उत्खनन गर्नेलाई कारवाही प्रक्रिया मै लगिए मात्र यो क्रम नियन्त्रण हुन सक्ने जानकारहरुको भनाइ छ ।जिल्लाका २० वटा स्थानीय तहमध्ये बागमती,इश्वरपुर,लालबन्दी,बरहथवा,हरिपुर र बसबरियामा गरी कुल २० वटा क्रसर उद्योगहरु दर्ता भएका भएपनि १३ वटा क्रसर उद्योगहरु सञ्चालन भई रहेका छन् ।नदी किनार तथा वन र सार्वजनिक जमिनमा खडा गरिएका क्रसर उद्योगहरुलाई नदीजन्य पदार्थ उत्खनन् गर्न कुनै मापदण्ड र र समय चाँहीदैन् ।यस तर्फ जिल्लाका सरोकारवालाहरु निकायहरुले समयमै ध्यान दिनु जरुरी छ ।