हुलाकी सडक खण्ड अन्तर्गत सर्लाहीको मलंगवा टावर चोकदेखि राजश्री सिनेमा हलसम्मको सडक निर्माणको काम सन्तोषजनक नरहेको भन्दै जिल्लाका सरोकारवाला निकायहरुको ध्यानाकर्षण भएको छ।हुलाकी सडक खण्ड अन्तर्गत सर्लाहीको मलंगवा टावर चोकदेखि राजश्री सिनेमा हल हुँदै कृष्णा चोकसम्मको सडक निर्माणको काम सन्तोषजनक नरहेको भन्दै स्थलगत अनुगमन तथा सडक खण्ड निर्माण कार्य यथासिघ्र सम्पन्न गराउने विषयमा जिल्लाका सरोकारवाला निकायहरुको ध्यानाकर्षण भएको हो ।
सोमबार(आज)हुलाकी सडक निर्माण सम्वन्धमा समन्वय बैठक बसी मलंगवाको टावर चोकदेखि राजश्री सिनेमा हल हुँदै कृष्णा चोकसम्मको सडक किनारमा व्यवस्थापन गर्न बाँकी रहेका बिजुलीका पोल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाले सात दिनभित्र व्यवस्थापन गर्न निर्माण व्यवसायीसँग सहजीकरण गर्ने,नाला निर्माण कार्य तत्काल अगाडि बढाउन हुलाकी आयोजना प्रमुखले आवश्यक प्रवन्ध मिलाउने र सडक कालोपत्रे सम्वन्धी कार्य यथाशिघ्र सम्पन्न गर्न आयोजना प्रमुखले नै आवश्यक व्यवस्था मिलाउने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार हुलाकी सडकको सर्लाहीको मलंगवाको पुरानो टावर चोक देखि राजश्री सिनेमा हल हुँदै कृष्णा चोक सम्मको सडक निर्माण कार्यको प्रगति सन्तोषजनक नरहेको साथै अलपत्र सडकको धुलोले स्थानीय नागरिकहरूको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको भएतापनि निर्माण कार्य शिघ्र सम्पन्न गर्न आयोजनाले चासो नदिएको जनगुनासो आएपछि हुलाकी सडकको स्थलगत अनुगमन तथा निर्माण कार्य यथासिघ्र सम्पन्न गर्ने विषयमा समन्वय बैठकमा छलफल भएको हो ।
प्रमुख जिल्ला अधिकारी अधिकारीको अध्यक्षतामा बसेको बैठकमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतो, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह र विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेशकुमार यादव लगायतको सहभागीता रहेको थियो ।