सरकारी सवारी साधनको चरम दुरुपयोग,सरोकारावाला निकाय मौन

388 Shares

“गाउँ गाउँमा सिंहदरवार”का सिंहहरुले आफु खुसी सरकारी सम्पतीको चरम दुरुपयोग गरेका छन्।ठूला आदर्शवादी भाषण गर्ने देशभर कै स्थानीय तहहरुका जनप्रतिनिधिहरुले कुनै न कुनै रुपमा आफ्नो अधिकार दुरुपयोग गर्नुका साथै सरकारी सम्पतीलाई नीजि रुपमा प्रयोग गर्ने गरेका हुन ।सबै भन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाहीका अधिकांश स्थानीय तहहरुका जनप्रतिनिधिहरु र कर्माचारीहरुले सार्वजनिक विदाको दिनमा पनि सरकारी सवारी साधनहरुको चरम दुरुपयोग गरेका छन्।
“गाउँ गाउँमा सिंहदरबार” भन्ने नाराका साथ संघियता अनुरुप व्यवस्था गरिएका स्थानीय तहहरुका निर्वाचित जनप्रतिनिधिहरु र  कर्मचारीहरुले सार्वजनिक विदाको दिन,हाटबजार किनमेल गर्न जाँदा र ससुराली तथा माईत जाँदा समेत सरकारी सवारी साधनहरुको चरम दुरुपयोग गरेका भएपनि जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही मौन देखिएका छन्।जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिकामा गरी २ सय वटा वडाहरु रहेकामा अधिकांश वडा अध्यक्षहरुले समेत सरकारी सवारी साधनकोे दुरुपयोग गर्ने गरेका छन्।जनताको समस्या समाधानको लागी जनताहरूको घर दैलोमा पुग्न र विकास निर्माणको काममा सहज भएर लाग्नका लागि राज्यले दिएको सुविधा स्वरुप सरकारी सवारी साधनलाई नीजि कामका लागि समेत प्रयोग गर्ने साथै सार्वजनिक विदाका दिनमा पनि विना पास प्रयोग गर्ने गरेका पाइएको भएपनि जिल्लाका सरोकारवाला निकायहरु  मौन देखिएका स्थानीयको आरोप छ ।
संघिय संरचना स्थापना हुँदाका बखत स्थानीय तहहरुले सरकारी सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर सुविधाको नाममा ठूलो धनराशी खर्च गरेर खरिद गरेका भएपनि त्यसको सहि सदुपयोग हुन सकेको छैन्।करोडौँं खर्च गरेर खरिद गरिएका सरकारी सवारी साधनहरुमा इन्धन,मोविल तथा मर्मत खर्च स्थानीय तहहरुले नै वेहोर्ने गरेका भएपनि कार्यालय प्रयोजन विपरित प्रयोग हुँदा राज्यको ठूलो धनराशी बालुवामा पानी भएको जानकारहरु बताउँछन् ।जिल्लाका स्थानीय तहहरुले विकास बजेटबाट वार्षिक लाखौं रकम कटाएर सरकारी सवारी साधनहरुका इन्धन,मोविल तथा मर्मत सम्भारमा खर्च गर्ने गर्दा अहिले व्यापक आलोचना समेत हुन थालेको छ।सर्लाहीमा मात्र नभइ मधेस प्रदेश कै अधिकांश स्थानीय तहहरुका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले सरकारी सवारी साधनहरुलाई घरायसी,खेतवारीको काम, माईत, ससुराली तथा हाटबजार जान र विभिन्न राजनीतिक कार्यक्रमहरुमा जान समेत प्रयोग गर्ने गरेका पाइएको छ।कार्यालय प्रयोजनका लागि खरिद गरिएका सरकारी सवारी साधनहरुको चरम दुरुपयोग गर्नेहरुलाई आवश्यक कार्बाही गर्न सरोकारवाला निकायको ध्यान पुगेको छैन् ।

सम्बन्धित समाचार