अदालतमा मुद्धा परेकाले भूमि आयोगमार्फत भूमि सम्वन्धी काम गराउन अप्ठेरो परिरहेको नेपाल सरकारका भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गुनासो गरे ।भूमि सम्वन्धी विद्यमान ऐन,नियम संशोधनकै प्रक्रियामै रहेको समेत उल्लेख गर्दै उहाँले भूमि आयोगका विषयमा अदालतमा मुद्धा परेकाले काम गर्न ढिलो भएको बताए ।सर्लाहीको हरिवन नगरपालिका ९ स्थित नोँचामा भूमि सुधार तथा मालपोत र नापी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्न शुक्रबार सर्लाही आउनु भएका मन्त्री अधिकारीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई सेवाग्राहीबाट गुनासो नआउने गरी काम गर्न निर्देशन समेत दिए ।
सेवाग्राहीको ज्यादा गुनासो आउने मध्येको प्रमुख कार्यालय मालपोत र नापी रहेकाले इमान्दार भएर काम गर्न कर्माचारीहरुलाई मन्त्री अधिकारीले निर्देशन समेत दिए ।उनले कर्माचारीहरुबाट काम गराउन अनावश्यक दबाब नदिन र लोभलालचमा नपार्न पनि सेवाग्राहीसँग आग्रह गरे ।त्यस्तै देशका उद्योग,कलकार खानालाई अझ व्यवस्थित बनाउन ती सबै सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिन खोज्दा विरोध भएको नेपाल सरकारका रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले बताए ।उनले राजनितिक सिण्डिकेटका कारण आफूले गर्न लागेको निर्णयलाई विवादमा ल्याइएको समेत बताए ।
हरिवनमा मालपोत र नापी कार्यालयको भवन केही महिना अघि नै निर्माण पूरा गरी कार्यालय सञ्चालनमा ल्याइए पनि शुक्रबार(आज)औपचारिक रुपमा उद्घाटन गरिएको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क)का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाले बताए । उनका अनुसार हरिवनमा रहेका मालपोत र नापी कार्यालयले हरिवन,लालबन्दी,बागमती,ईश्वरपुर र हरिपुर नगरपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गर्ने छन् ।