सर्लाहीको हरिपुर नगरपालिका४,हरैयामा एक महिलाको हत्या भएको छ।हरिपुर नगरपालिका ४ हरैयाका ठगा रायकी अन्दाजी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कृष्णादेवीको शव शनिबार राति घरदेखि करिव पाँच सय मिटर पूर्व आफ्नै मकै खेतमा फेला परेको हो।महिलाको शव फेला परे पछि राति ९ः३० बजे प्रहरीमा खबर भएको र इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। “घटना शंकास्पद रहेकाले अनुसन्धान अघि बढाईएको,ईलाका प्रहरी कार्यालय हरिपुर र जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी टोली परिचालित गरि थप प्रमाण जुटाउन लागि परेका छौँ।” जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक एवम प्रहरी प्रमुख रविन्द्र बहादुर सिंहले बताए ।
“शनिबार अपरान्ह करिब ४ बजे घरबाट खेतमा घाँस काट्न गएकी कृष्णादेवी अबेरसम्म पनि घर नफर्किए पछि आफु सहित छर छिमेकी सहित खोज्न मकै खेतमा जाँदा कृष्णादेवीको शव फेला परेको हो।”कृष्णादेवीका श्रीमान ठगाले बताए।मृतक कृष्णादेवीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ ।