हरिवन नगरपालिका ९ का शताब्दी पुरुष थापाको एक सय चार वर्षमा निधन

96 Shares

सर्लाहीको हरिवन नगरपालिका ९ निवासी शताब्दी पुरुष बबरजंग थापाको एक सय चार वर्षको उमेरमा निधन भएको छ।सोमबार(आज) बिहान हरिवन नगरपालिका ९,सुखेपोखरी स्थित आफ्नै घरमा एक सय चार वर्षको उमेरमा थापाको निधन भएको हो ।दोस्रो विश्वयुद्धमा सहभागी भएका  थापाको आफ्नै कोठामा एक्लै सुतेकै अवस्थामा निधन भएको उनका नाति प्रतीक कार्कीले जानकारी दिए।उनका अनुसार सोमबार(आज) बिहान खाना खानको लागि बोलाउन जाँदा उनी कोठा मै मृत फेला परेका हुन।
वि.सं.१९७८ साउन ५ गते सिन्धुलीको रातमाटामा जन्मिएका थापा १८ वर्षको उमेरमा अंग्रे्रेज सेनामा भर्ना भएर दोस्रो विश्वयुद्धमा सहभागी भएका थिए।दोस्रो विश्वयुद्धबाट फर्किएपछि थापाले हरिवनमा पहिलो विद्यालय स्थापना गरेका साथै २०३२ सालमा तत्कालिन हरिवन गाउँ पंचायतको उपाध्यक्ष भएर पनि काम गरेका थिए । 
१९९३ सालमा इन्डियन आर्मी बनेर योद्धाको रुपमा युद्धभूमिमा दुई वर्ष बिताएपछि विदामा घर आउँदा २००२ सालमा रामेछाप भलुवाजोर निवासी पद्म बहादुरको जेठी छोरी चित्र कुमारी थापासँग वैवाहिक जिवनमा बाँधिएका थिए ।जेठी छोरी पहाडमै जन्मिएकाले उनै छोरीलाई साथमा लिएर असल ठाउँ र असल समाजको खोजी गर्दै सर्लाहीको हरिवन बजारलाई आफ्नो
कर्मथलो बनाएका थापाले हरिवन बजारको आर्थिक,सामाजिक र शैक्षिक उन्नयनमा अग्रसरता देखाएका थिए।वि.स. २०२५ सालमा हरिवनको पुरानो बजारमा भिषण आगलागी भएपछि हरिवन कै सुखेपोखरी गएका थापाले पशुपक्षी र वस्तुभाउका लागि हालको शिवसागर पोखरीको निर्माण गरे।पूजाआजा गर्नका लागि चतुर्भुजेश्वर महादेव स्थापना गरे।उक्त मन्दिर निर्माण कार्यका ४ भूजा मध्ये १ भूजा उनी पनि रहेका जानकारहरु बताउँछन् ।
हरिवन नगरपालिका ९ स्थित चतुर्भुजेश्वर मन्दिर र हरिवन नगरपाकिला १० स्थित चर्तुर्भुजेश्वर माध्यमिक विद्यालय स्थापना गरेका उनलाई हरिवन नगरपालिकाले शताब्दी पुरुषको रुपमा सम्मान समेत गरेको थियो ।उनको सोमबार(आजै)बागमती नदीमा दाहसँस्कार गरिएको छ ।

सम्बन्धित समाचार