सर्लाहीको रामनगर गाउँपालिकाले सिमलताल दुर्घटनामा मृत्यु भएका र बेपत्ता रहेका दुई युवकको परिवारलाई प्रति परिवार एक लाखका दरले आर्थिक सहयोग गरेको छ ।असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २८, सिमल तालमा आएको पहिरोमा परी ६५ जना यात्रुसहित दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए।उक्त दुर्घटनामा परेर मृत्यु भएका रामनगर गाउँपालिका ३,बोहर्बाका जितेन्द्र राम र बेपत्ता रहेका सोही ठाउँका रामा दासको परिवारलाई गाउँपालिकाले प्रति परिवार रु एक लाख प्रदान गरेको गाउँपालिका अध्यक्ष राजावावु यादवले जानकारी दिए ।
उनका अनुसार जितेन्द्रका बुबा मन्सिप र रामाका बुबा नागेन्द्रलाई उनीहरुको घरमै पुगेर नगद प्रदान गरिएको हो।दुर्घटनामा परेर छोरा गुमाएका दुवै परिवारको आर्थिक अवस्था दयनीय रहेकाले गाउँपालिकाले सहयोग प्रदान गरेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
नदीमा बस खसेपछि दुई साता भन्दा बढी समयदेखि बेपत्ता रामाको परिवारले शव फेला नपरेपनि सामाजिक परम्परा अनुसार दाहसंस्कार गरिसकेका छन् भने,जितेन्द्र र रामा वैदेशिक रोजगारीका लागि काठमाडौँमा स्वास्थ्य परीक्षण गरेर गौर आउने बस चढेर घर फर्कदै गर्दा दुर्घटनामा परेका परिवारले जनाएको छ ।विशेष टोली परिचालन गरेर खोजतलासको काम भई रहेको भएपनि हाल सम्म बस समेत फेला नपरेको प्रहरीले जनाएको छ ।