सर्लाहीको हरिवन नगरपालिकाले चालु आर्थिक वर्षका लागि समयमै बजेट ल्याउन सकेन्।गत आर्थिक वर्षमा पनि दशैं अघि मात्र नीति तथा कार्यक्रम सहित बजेट नगरसभाले पारित गरेको हरिवन नगरपालिकाले चालु आर्थिक वर्षको पनि वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।
हरिवन नगरपालिकामा नगर प्रमुख र वडा अध्यक्षहरुको हानाथापका कारण चालू आर्थिक वर्ष २०८१÷०८२ का लागि कानूनी समयावधी भित्र हरिवन नगरपालिकाले नीति कार्यक्रम सहित बजेट ल्याउन सकेन।नगर प्रमुख रमेश बुढाथोकी (कमल) र वडाध्यक्षहरुबीच बजेट चलाउने विषयमा विवादका कारण समयमै बजेट आउन नसकेको नगरपालिका स्रोतले जनाएको छ ।
बजेट ल्याउने विषयमा विवाद भइरहने स्थानीय तहहरुको रुपमा पहिचान बनाएका हरिपुर्वा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाले यो पटक समयावधी भित्रै नीति कार्यक्रम सहित बजेट ल्याईसकेका भएपनि हरिवन नगरपालिकाले लगातार रेकर्ड तोड्दै समयमै बजेट नल्याउने स्थानीय तहको सुचिमा सुचिकृत भएको छ ।
नेकपा(माओवादी केन्द्र)को तर्फबाट निर्वाचित नगर प्रमुख बुढाथोकीको हठले गर्दा समयमै बजेट आउन नसकिएको हरिवनका वडाध्यक्षहरुले बताएका छन् ।“कुल बजेटको ६० प्रतिशत वडाहरुबाट तथा ४० प्रतिशत नगरबाट खर्च हुनेगरी नीति कार्यक्रम तथा बजेट ल्याउन आफुहरुले माग गरेको भएपनि पानी सदस्य समेत नजितेका एक्ला नगर प्रमुख बुढाथोकी आफुलाई बालेन र हर्कको उपनाम दिँदै कार्यपालिका बैठक नै नराखी भागेर हिँडि रहेका कारण बजेट आउन नसकेको हो।”हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले बताए ।
उनले“नगर प्रमुख बुढाथोकीको समन्वय गर्ने भन्दापनि भाग्ने बानीले गर्दा कुनै बैठक तथा छलफल हुन नसकेको हो ।”बताए ।“असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सामान्य औपचारिकता पूरा गर्ने काम भयो,त्यसपछि न कार्यपालिकाको बैठक बसाएर बजेटका बारेमा छलफल भएको छ, न त अनौपचारिक छलफल नै भएको छ।”हरिवन नगरपालिका ४ का वडा अध्यक्ष केशव थापा(बाबु)ले बताए ।
नगर प्रमुख बुढाथोकीले एकमुष्ट नगरबाट बजेट राख्न खोज्दा बजेट अड्किएको हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन योञ्जनले बताए।“नगर प्रमुख बुढाथोकी वडाध्यक्षहरुको त कुरै सुन्न चाहदैनन्,कहिले काही सुनेजस्तो गरेपनि काम भने ठिक उल्टो गर्ने गर्छन्।”वडाध्यक्ष योञ्जनले थपे,
“हरेक बजेट कुन ठाउँ तथा कहाँ र कति खर्च गर्ने भनी शिर्षकमै तोकेर छुट्याउनु पर्छ भन्ने हाम्रो माग हो, तर नगर प्रमुख बुढाथोकी शिर्षकमै तोकेर बजेट छुट्याउनु पर्छ भन्ने मागको विपरित रहेका कारण कुरा नमिल्दा र बजेट पास हुन नसकेको हो ।”हरिवन नगरपालिका १० का वडा अध्यक्ष शम्भु मैनालीले बताए ।कानून अनुसार हरेक असार २५ गतेभित्र पालिकाहरुको नीति,कार्यक्रम तथा बजेट पास भईसक्नु पर्छ यदी कुनै कारणले सो नभए पालिकाको अंक घट्छ र संघीय अनुदानमा समेत कमि आउँछ।त्यस्तै गत आर्थिक वर्षमा नगरपालिकाले सार्वजनिक सुनुवाई समेत गर्न सकेन।सार्वजनिक सुनुवाई गर्न नसक्दा पनि संघबाट आउने अनुदानका लागि नम्बर घट्ने जानकारहरु बताउँछन् ।
यता,नगर प्रमुख बुढाथोकीले आफु विवाद मिलाएर बजेट ल्याउने तयारीमा रहेको बताएका छन् ।हरिवन नगरपालिकामा माओवादी केन्द्रबाट नगर प्रमुख बुढाथोकी मात्रै निर्वाचित भएका छन्।नेकपा(एमाले)बाट नगर उप प्रमुख हरिमाया घलान, सहित करिब बहुमत वडाअध्यक्षहरु र सदस्यहरु निर्वाचित भएका छन्,भने नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट पनि वडा अध्यक्षहरु निर्वाचित भएका छन् । संख्यात्मक हिसाबले नगर सभा तथा कार्यपालिकामा एक्ला नगरप्रमुख बुढाथोकीले व्यबहारमा समेत समन्वयात्मक भूमिका निर्वाह गर्न नसकेका कारण बजेट आउन नसकेको जानकारहरुको भनाई छ ।
एमालेबाट निर्वाचित निर्वतमान नगर प्रमुख गणेश प्रसाद प्रसाईं नगरसभा तथा कार्यपालिकामा दुई तीहाई बहुमतको अवस्थामा हुँदा समेत हरिवन नगरपालिका ७ मा नेपाली कांग्रेसबाट निर्वाचित नेत्र प्रसाद मैनालीलाई आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षहरुलाई जस्तै व्यवहारबाट पाठ सिक्न समेत हालका वडाध्यक्षहरुको सुझाव छ ।
यता,हाल संघीय सरकारको सक्ता साझेदार कांग्रेस र एमालेका जनप्रतिनिधिहरुको बाहुल्यता रहेको हरिवन नगरपालिकामा बहुमत र अल्पमतको लडाई भई बजेट नआउँदा नगरको विकास निर्माणको काम प्रभावित हुनेमा स्थानीय सशंकित देखिएका छन् ।