रौहतटको प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।प्रादेशिक अस्पताल गौरका लागि खरिद भएको औषधि तथा स्वास्थ्य उपकरणहरूमा आर्थिक चलखेल भएको भन्दै गुनासो आएपछि प्रादेशिक अस्पताल गौरमा अख्तियारले छापा मारेको हो ।अख्तियारको टोलीले सो अस्पतालले खरिद गरेका औषधि तथा स्वास्थ्य उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन्।टोलीले अस्पतालमा रहेका स्वास्थ्य उपकरण तथा औषधिहरू खरिद र विवरणमा मेल नखाएपछि अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि सोही अनुसार रिपोर्ट तयार गरी फर्किएको स्थानीयले बताएका छन् ।अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितता भएको आरोप स्थानीयस्तरबाट लागिरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरले गोप्य टेन्डरमार्फत औषधि तथा स्वास्थ्य उपकरण खरिद गरि व्यापक आर्थिक अनियमितता गरेका स्थानीयको आरोप छ।सो अस्पतालमा टाइल्स र मार्बल जडान,सवारी साधनहरुको मर्मत,टिकट काउन्टरको रकम हिनामिना,भवन रङरोगन,इन्धन खर्च,न्यानो झोला खरिद र करार कर्मचारी भर्ना लगायतका प्रक्रियामा अनियमितता भएको स्थानीयको आरोप छ।स्रोतहरूका अनुसार, नीजि क्लिनिक र ल्याबसँग साठगाँठ गरी लाखौं भ्रष्टाचार भएको छ।यस्ता क्रियाकलापका कारण अस्पतालका चिकित्सकहरू तनावमा काम गर्न बाध्य भएका छन्।उनीहरूलाई अध्यक्ष हासमीले सरुवा गर्ने धम्की दिँदै दबाबमा राख्ने गरेका केही चिकित्सकहरुले गुनासो समेत गरेका छन् ।
यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि ठोस कारबाही नभएको स्थानीयको गुनासो छ।तर अस्पताल विकास समितिका अध्यक्ष हासमिसंग अस्पतालमा कुनै किसिमको अनियमितता नभएको दाबी गरे ।मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा रहेका सबै प्रकारका सरकारी कार्यालयहरुमा विभिन्न किसिमका अनियमितताहरु भई रहेका भएपनि अख्तियार सुस्त देखिएको स्थानीयको आरोप छ ।