२०७४ को निर्वाचनमा ९९ स्थानीय तहमा माओवादी केन्द्रको थोरै मतान्तर थियो

2.8k Shares

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा १०६ स्थानीय तह जित्दै माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको थियो । जितेका स्थानसँगै हारेका स्थानमा ९९ पनि माओवादी केन्द्र निकै कम मतान्तरले हारेको थियो । माओवादी केन्द्र हारेको ४९ स्थानीय तह जहाँ ५०० भन्दा कम मतान्तर थियो । माओवादी केन्द्रका ९ उम्मेदवार १ सयभन्दा कम मतान्तरले पनि हारेका थिए ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका जहाँ माओवादी केन्द्रका उम्मेदवार थामबहादुर राई एमालेका विजय राईसँग जम्मा ८ मतले हारेका थिए । त्यस्तै, प्यूठानको माण्डवी गाउँपालिकामा माओवादीका नमराज अधिकारी एमालेकै श्रीधर रोकासँग जम्मा १२ मतले पराजित भएका थिए ।
निर्वाचन आयोगको तथ्यांकअनुसार ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र १३ स्थानीय तहमा १०० देखि २०० भन्दा कम मतले हारेको थियो । त्यस्तै १० स्थानीय तहमा २०१ देखि ३०० भन्दा कम मतले हारेको थियो ।
१३ स्थानीय तह जहाँ माओवादी केन्द्र ३०१ देखि ४०० भन्दा कम मतले हारेको थियो । त्यस्तै, ४ स्थानीय तह जहाँ माओवादी केन्द्र ४०१ देखि ५०० भन्दा कम मतले हारेको थियो । 
यसैगरी, २६ स्थानीय तहमा माओवादी केन्द्र ५०१ देखि १ हजारभन्दा कम मतले हारेको थियो भने १२ स्थानीय तहमा १ हजार १ देखि १५ सयभन्दा कम मतले हारेको थियो । माओवादी केन्द्रका १२ उम्मेदवार १५०१ देखि ४ हजारभन्दा कम मतले हारेका थिए ।
१०६ स्थानीय तह जितेको माओवादी केन्द्र १ सय स्थानीय तहमा दोस्रो र ३ सय ३९ तहमा तेस्रो पार्टी बनेको थियो । तत्कालिन समय कतिपय स्थानीय तहमा दलहरुबीच चुनावी तालमेल भएको भएपनि अधिकांश स्थानीय तहमा माओवादी केन्द्रको हैसियत प्रतिस्पर्धी अवस्थामा देखिन्छ । तालमेल गरेका कतिपय स्थानीय तहमा माओवादीले थप क्षति व्यहोरेको पनि देखिन आएको छ ।
२०७४ को निर्वाचन परिणामलाई हेर्दा माओवादी केन्द्र २०५ स्थानीय तहमा बलियो अवस्थामा देखिन्छ । जितेका १०६ र हारेका ९९ तहमा माओवादी केन्द्रको प्रभाव प्रतिस्पर्धी खालको छ । तथ्यांकलाई विश्लेषण गर्दा माओवादी केन्द्रले सही खालको तालमेल गरे थप संख्या जित्न सक्छ ।
साथै, माओवादी केन्द्र तेस्रो बनेका कतिपय ठाउँमा पनि उसको प्रभाव राम्रो देखिन्छ । तथ्यांकलाई विश्लेषण गर्दा, ७ सय ५३ स्थानीय तहमध्ये ५ सय ४४ स्थानमा माओवादी केन्द्रको कसैलाई जिताउने वा हराउने मत रहेको देखिन्छ ।
अहिले सत्ता गठबन्धनका ५ दलबीच चुनावी तालमेल गर्नेबारे छलफल चलिरहेको छ । यदि तालमेल सही खालको भएमा माओवादी केन्द्रले स्थानीय तहको संख्या बढाउन सक्छ । यदि तालमेल विवादित बनेको यसअघिको भन्दा पनि क्षति व्यहोर्न सक्छ ।

सम्बन्धित समाचार