महोत्तरीको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक सहित तीन जना प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले तानेर अनुसन्धान थालेको छ ।ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीसहित तीन जना प्रहरी कर्मचारीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तानेर अनुसन्धान अघि बढाईएको प्रहरी स्रोतले जनाएको छ ।
व्यापारीहरुबाट जबरजस्ती मासिक रुपमा रकम मागेको,चेक अनादर मुद्दामा आरोपितबाट आर्थिक लाभ लिएको,ईलाका प्रहरी कार्यालय गौशाला परिसरमा दिनहुँ छलफलबाट विचौलिया परिचालन गरी आर्थिक संकलन गर्दै आएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भण्डारी माथि आरोप लागेको छ ।ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भण्डारीले प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई घुमुवाको रुपमा परिचालन गरी अनैतिक रकम असुलीको काम गराएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
प्रहरी जवान महतो र विश्वकर्मा लामो समयदेखि ईलाका प्रहरी कार्यालय गौशालामा कार्यरत रहेका थिए।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सादा पोसाकका (घुमुवा) प्रहरीले संरक्षण गरेका समेत पाइएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पाँच वर्ष भन्दा बढी समयदेखि कार्यरत सादा पोसाकमा काम गर्ने प्रहरीको सरुवा भए पनि उनीहरु अन्यत्र जान अटेर गरी महोत्तरी मै बस्दै आएका छन् ।लामो समय एउटै जिल्लामा बस्ने प्रहरी कर्मचारीहरुले अनुसन्धान र सूचना संकलन गर्न भन्दै सादा पोसाक(घुमुवा)मा बसेर पदको दुरुपयोग गरी आर्थिक लाभ लिने गरेका पाइएको छ ।