प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका छ सय २८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ।जिल्लाभर शान्तपूर्वक मतदान भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए।उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभरी नै शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तीन सय १२ मतदानस्थल र छ सय २८ मतदान केन्द्र कायम गरिएको थियो।निर्वाचन गराउन जिल्लाभर तीन हजार सात सय ६८ जना कर्मचारी परिचालन भएका छन् ।
जिल्ला सुरक्षा समितिका संयोजक एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भयरहीत र शान्तिपूर्णरुपमा सम्पन्न गर्न जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था चुस्त पारिएको बताए ।
चारवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा २६ वटा दलका ६१ जना र स्वतन्त्र ७० जना गरेर एक सय ३१ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । जिल्लाभर दुई लाख ७८ हजार आठ सय ३७ जना पुरुष,दुई लाख ३२ हजार सात सय ५८ महिला र अन्य ११ जना सहित पाँच लाख ११ हजार छ सय छ जना मतदाता रहेकामा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।उनका अनुसार सम्पूर्ण मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका प्राप्त भएपछि कूल खसेको मतको एकिन विवरण प्राप्त हुने छ ।
छन् । जसमा कती प्रतिशत
यो समाचार तयार पार्दै गर्दा सम्म मतपेटिका संकलनको काम भई रहेको छ भने मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक राखी आचारसंहिता तयार पारेर बिहीबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।
सर्लाहीको क्षेत्र नं. १ मा लालबन्दी १० नं. वडा कार्यालयको भवन,क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिको सभा हल मलंगवा,क्षेत्र नं. ३ मा नापी कार्यालय हरिवनको सभा हल र क्षेत्र नं. ४ मा बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना हुने छ ।