सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालले एक वर्षको अवधिमा ३३ हजार भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ।अस्पतालले आर्थिक वर्ष २०८०/०८१ को अवधिमा ३३ हजार एक सय ९७ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको नगर अस्पताल लालबन्दीका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार नगर अस्पतालमा प्रत्येक वर्ष बिरामीको संख्या बढ्दो अवस्थामा छ।अस्पतालमा लालबन्दी नगरपालिकाका अतिरिक्त जिल्लाका अन्य स्थानीय तहहरु र सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाबाट समेत स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरु रहेका डा.चौधरीले बताए ।
आर्थिक वर्ष २०८०/०८१ मा नगर अस्पतालले पाँच सय छ वटा प्रसुती सेवा प्रदान गरेको नगर अस्पताल लालबन्दीले ल्याव सेवा तर्फ ४५ हजार वटा लगायत अन्य सेवा प्रदान गरेको नगर अस्पतालका प्रमुख डा.चौधरीले बताए । “बढ्दो सहरीकरणसँगै नगर अस्पताल लालबन्दीबाट प्रदान हुने सेवामा सुधार र थप भएपछि सेवाग्राहीहरुको चाप बढेको र हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”उनले बताए ।
नगर अस्पतालमा ३४ जनाको दरबन्दी रहेको भएपनि हाल डाक्टर सात जना,नर्सिङ स्टाफ ११ जना,प्रयोगशालाका कर्मचारी चार जना,रेडियोग्राफर एक जना,बिमामा तीन जना,फार्मेसी तीन जना,प्रशासनका कर्मचारी तीन जना अन्य प्राविधिक र सहायक गरी छ जना र कार्यालय सहयोगी छ जना कुल ४४ जना कार्यरत रहेको छ ।
१५ शैया स्वीकृतिको नगर अस्पताल लालबन्दीले सेवा दिइरहेको छ।नगर अस्पताललाई अब २५ शैयामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको अस्पताल व्यावस्थापन समितिका अध्यक्ष एवम लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष नारायण अघिकारीले बताए ।
उनका अनुसार नगर अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना,फोहरमैला व्यवस्थापन,डायलाईसिस सेवाका साथै नगर अस्पताल लालबन्दीको प्रयोगशालालाई पुर्णरुपमा व्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको छ।नगर अस्पताल लालबन्दीबाट निस्कने फोहोर र पानीको व्यवस्थापन,आँखा विशेषज्ञ सहितको सेवा,अत्याधुनिक दाँत सेवा,एनेथेसिया सेवा र भेन्टिलेटर सहित आइसियु कक्ष,अत्याधुनिक ल्याब सेवा,डिजिटल एक्स–रे र निःशुल्क औषधि कक्ष लगायतका सेवालाई थप विस्तार गर्दै लैजानु पर्ने स्थानीय जानकारहरु बताउँछन् ।
स्वास्थ्य बिमा तर्फ १० हजार तीन सय ६५ जनालाई सेवा प्रवाह गरेको नगर अस्पताल लालबन्दीले स्वास्थ्य बिमाबाट एक हजार तीन सय प्रकारका औषधीहरु वितरण गरि रहेको अस्पताल प्रशासनले जनाएको छ ।थप सेवा विस्तार गर्न भौतिक संरचनाको अभाव,बिरामीको अत्यधिक चापका कारण ओपिडि कक्ष समेत अभाव, बिमाको औषधी सर्लाही जिल्लाभर अन्यन्त्र कतैपनि वितरण नभएकाले थेग्न निकै समस्या भएको,बिमाको औषधीको रकम बिमा बोर्डले समयमै भुक्तानी नदिँदा समस्या भएको र जनप्रतिनिधिहरु र नगरपालिकामा गैर प्राविधिक कर्माचारीहरु रहेका कारण समन्वय गर्न निकै समस्या भएको अस्पताल प्रशासनको गुनासो छ ।