नेपाल कांग्रेस मधेश प्रदेशलाई पार्टीको विधि,विधान र प्रक्रियाबद्ध तरिकाले अघि बढाउन नेपाली कांग्रेस मधेशका उप सभापतिद्वय चन्द्र शेखर यादव र वीरेन्द्र प्रसाद सिँहबीच सहमती भएको छ ।पार्टीको मधेश नेतृत्वमा केही समययता उत्पन्न अस्थिरता र विचलन तथा एक अर्काले आफुलाई ठिक र अरुलाई बेठिक देखाउने खेल विरुद्ध दुई उपसभापतिहरूबीच एक्यबद्ध भएर अघि बढ्ने सहमती भएको नेपाली कांग्रेस मधेश प्रदेशले जनाएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णा यादवले केही दिनअघि प्रदेशका तत्कालीन अर्थ मन्त्री संजय यादव र तत्कालीन पर्यटन मन्त्री सुनिता यादवले गरेका भ्रष्टाचार तथा अनियमितताका बारेमा प्रदेशसभा सदस्य उपेन्द्र महतो नेतृत्वको संसदीय समितिको छानबिन प्रतिवेदन पारित नगर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई दिएको निर्देशन पार्टीको नीति विपरीत रहेको ठहर समेत दुई उपसभापतिले पार्टीको विधि,विधान र प्रक्रियाबद्ध तरिकाले अघि बढाउने सहमती गरेका हुन ।उपसभापति एवम निवर्तमान मन्त्री सिंहले आफ्नो सामाजिक सञ्जालमा भेटघाटको तस्बिर सार्वजनिक गर्दै मधेश प्रदेशमा पार्टीको विधि,विधान र प्रक्रियाबद्ध तरिकाले अघि बढाउने सहमती भएको जानकारी दिए ।
निवर्तमान मन्त्री समेत रहेका मधेश प्रदेश सभाका उपनेता एवम पार्टी उपसभापति सिंहले प्रदेश सभामा पेस गरेको भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा लिएको अडानको नेपाली काग्रेस केन्द्रीय समितिमा समेत चर्चा चलेको छ ।उपनेता सिंहले महतो नेतृत्वको संसदीय समितिको प्रतिवेदन प्रदेश सभामा पारित गर्न पार्टीका प्रदेश सांसदलाई निर्देशन दिएका थिए ।
दुई उप सभापतिबीच मधेश प्रदेश सरकार,पार्टी संगठन,प्रशिक्षण र प्रदेशका पछिल्ला राजनीतिक घटाक्रमका बारेमा छलफल भएको उपसभापति यादवले बताए ।प्रदेश सरकार, पार्टी संगठन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा दुई उपसभापतिबीच विस्तृत छलफल र पार्टी सुदृढीकरण तथा संगठन विस्तार गर्ने कार्यमा दृढताका साथ एक ढिक्का भएर लाग्ने निष्कर्ष निकालिएको उप सभापति यादवले बताए ।