सर्लाहीकाे ब्रम्हपुरी गाउँपालिका २ मा पाेखरीमा डुबेर एक बालककाे ज्यान गएकाे छ । ब्रम्हपुरी गाउँपालिका २ स्थित रहेकाे राम जानकी मठको पोखरीमा डुबेर साेही ठाउँका अन्दाजी वर्ष ६ का अंकित साहकाे नुहाउने क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नुहाउने क्रममा उक्त पोखरीमा डुवी साहकाे मृत्यु भएको र शव पोखरीबाट स्थानीयले निकाली प्रहरी चौकी ब्रम्हपुरीलाई जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा राखि पाेष्ट माटमका लागि प्रादेशिक कार्यालय मलंगवा सर्लाही ल्याउने तयारी भई रहेकाे प्रहरीले जनाएको छ । त्यसैगरी ईश्वरपुर नगरपालिका ५ सखुवनीस्थित फूलजोर खोला नजिक पानीमा डुबेर एक किशोरको ज्यान गएकाे छ । ईश्वरपुर नगरपालिका ५ सखुवनीमा फुटबल खेल्न साथीहरुसँगै गएका ईश्वरपुर नगरपालिका ४ सागरनाथका १७ वर्षीय निशान थापा मगरको नुहाउन खोला नजिकै नदीजन्य पदार्थ उत्खनन गर्न खनिएको खाल्डोमा जाँदा डुबेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खाल्डो गहिरो भएकाले मृतक किशोरको शव निकाल्न गोताखोर मगाउनु परेको छ । खाल्डाे निकै गहिराे भएकोले युवककाे शव निकाल्नु शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासका गोताखोर टोली घटनास्थलमा आइपुगेको प्रहरीले जनाएको छ ।