बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा निवर्तमान मुख्य मन्त्री सहित प्रदेश सभा सदस्य लगायतको निर्माण कम्पनीले ठेक्का लिएको मरिण खोलाको पुल पाँच वर्ष हुँनै लाग्दा पनि आधापनि निर्माण नभएको पाइएको छ ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ बफबर र हरिहरपुरगढी गाउँपालिका–४ हाक्पारा जोड्ने मरिण खोलाको पुल १८ महिनामा निर्माण सकाउने भन्दै बागमती प्रदेशका निवर्तमान मुख्य मन्त्री एवम नुवाकोट क्षेत्र नम्बर २ प्रदेश सभा ख का प्रदेश सभा सदस्य बहादुर सिंह लामाको हिमडुङ एण्ड ठोकर,सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा क का प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जनको इमानोयल कन्स्ट्रक्सन प्रा.लि र स्थानीय रमेश कुमार कुँवरको सारस निर्माण सेवा प्रा.लिले संयुक्त रुपमा २०७८ असार २२ गते सम्झौता गरी पुलको काम सुरु गरेका थिए ।
पुर्वाधार विकास कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७७÷०७८ मा १९ करोड २४ लाख ४१ हजार आठ सय १७ रुपैँया ६३ पैसा(मु.अ.क) सहितमा ठेक्का लगाएको दुई सय ५० मिटर लामो मरिण खोलाको पुल २०७९ पुस २१ गते निर्माण सम्पन्न गर्ने भन्दै तीन वटा कम्पनीले संयुक्त रुपमा ठेक्का सकार गरेका भएपनि करिब पाँच वर्ष पुग्नै लाग्दा समेत करिब ४५ प्रतिशत मात्रै काम भएको पुर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार ४४ दशमलव २२ प्रतिशत रकम निर्माण कम्पनीले भुक्तानी समेत लिई सकेको छ।स्थानीय तहसंग समन्वय नै नगरी प्रदेश सभा सदस्य एवम निवर्तमान मुख्य मन्त्री लामा,सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा क का प्रदेश सभा सदस्य बम्जन र निर्माण व्यवसायी कुँवरले काम सुरु गरेको उत्त पुलको काम पाँच वर्ष पुग्नै लाग्दा पनि आधा पनि नगरी चरम लापरबाही गर्दा सो क्षेत्रका स्थानीय चिन्तित बनेका छन्।जनप्रतिनिधिहरु आफैँले निर्माणको ठेक्का लिएको उत्त पुल वर्षौंदेखि अलपत्र पर्दा हजारौं नागरिक सास्ती खेप्न बाध्य भएका छन्।
हरिहरपुरगढी र मरिणलाई मधेशको सर्लाहीसंग प्रत्यक्ष जोड्न सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ बफबर र हरिहरपुरगढी गाउँपालिका–४ हाक्पारा स्थित मरिण खोलामा पुल निर्माण सुरु भएपनि राजनीतिक पावरको आधारमा निर्माण कम्पनीले निर्माण कार्यमा लापरबाही गर्दा स्थानीयलाई यस वर्षपनि वर्षालागेसंगै चिन्ताले पिरोल्न थालेको छ ।
मरिण खोलामा पाँच स्पामको पुल निर्माणका लागि हिमडुङ एण्ड ठोकर÷इमानोयल÷सारस जेभीले अन्तीम पटक यही ३० गते सम्मको थप समय पाएको भएपनि हाल सम्म पाँच वर्षको अवधिमा करिब ४५ प्रतिशत मात्रै काम गरेको छ ।
निर्माणस्थलमा सूचना बोर्ड समेत नराखेको निर्माण कम्पनीले निर्धारित समयमै निर्माण सम्पन्न गर्ने सम्झौता गरेको भएपनि हालसम्म पुल निर्माणको काम आधापनि नभएको भन्दै स्थानीयबाट गुनासो आएपछि कमलामाई मिडिया प्रा.लि.को टिमले स्थलगत अवलोकन गरेको थियो ।जनप्रतिनिधिको जिम्मेवारी जनताको विकास र समृद्धिका लागि काम गर्नु भएपनि पछिल्लो समय जनप्रतिनिधिहरु कसरी भ्रष्टाचार गर्न वा गैर कानूनी रुपमा आर्थिक लाभ लिन सकिन्छ् भन्ने तर्फ केन्द्रीत भएका पाइएको छ।संघीय नेपालमा तीन तहको सरकार रहेको र दोस्रो तहको सरकार प्रदेश सरकारका मुख्य मन्त्री र प्रदेश सभा सदस्यहरु समेत रहेका निर्माण व्यवसायीले नै निर्माणको ठेक्का पाएको राष्ट्रिय गौरबको आयोजनाको निर्माण कार्य पाँच वर्ष पुग्नै लाग्दापनि आधापनि नहुनुले प्रदेश सभाका जनप्रतिनिधिहरुले आफ्ना मतदाता तथा नागरिकहरु प्रति जिम्मेवार छन् भन्ने प्रष्ट भएको छ ।
स्थानीयका अनुसार पुल निर्माण सुरु भएपछि केही समय काम भएको देखिए पनि पछिल्लो समय निर्माण कार्य ठप्प भएपछि उत्त निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने धम्की आएपछि फेरी काम सुरु गरेको जस्तो देखाए पनि अहिले निर्माणको काम ठप्प भएको छ ।पुर्वाधार विकास कार्यालय सिन्धुलीका साथै सरोकारवाला निकायको प्रभावकारी अनुगमन नहुँदा निर्माण कम्पनीका प्रतिनिधि तथा कामदारहरू समय समयमा निर्माणस्थलमा पुग्ने गरेका भएपनि प्रभावकारी रूपमा काम अघि बढ्न नसकेको स्थानीयको भनाइ छ।
पुल निर्माण होला र वर्षायाममा पनि आवत जावत गर्न समस्या नहोला भन्ने आशमा बसेका मरिण तथा हरिहरपुरगढी गाउँपालिकाबासी यस वर्षपनि पुल निर्माण सम्पन्न नहुने अवस्था देखेपछि चिन्तित बनेका छन्।भने पुल निर्माण नहुँदा नदी वारपार गर्न जोखिमपूर्ण विकल्प अपनाउनुपर्ने अवस्था स्थानीयको पुरानै कथा बनेको छ ।
उक्त पुल निर्माण नहुँदा विद्यार्थी,बिरामी,ज्येष्ठ नागरिक तथा किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन्।सामान्य वर्षा हुँदा समेत नदीमा पानीको बहाव बढ्ने भएकाले आवत जावतमा कठिनाइ हुने गरेको उनीहरुको भनाइ छ।“निर्माण कम्पनीले काम पूरा गर्ने आश्वासन धेरै पटक दियो,तर पुल अझै बनेको छैन, “निर्वाचनका बेला विकासको सपना देखाइयो,अहिले भने जनताले दुःख मात्रै पाइरहेका छन्।”एक स्थानीयले बताए ।
पुल निर्माणमा भएको ढिलाइले स्थानीय अर्थतन्त्रसमेत प्रभावित बनेको छ।किसानहरूले उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन कठिनाइ भइरहेको छ।यातायात खर्च बढ्दा उत्पादनको लागत पनि महँगो भएको उनीहरू बताउँछन्।स्थानीय सरोकारवालाहरूले निर्माण कम्पनी र सम्बन्धित निकायबीचको मिलेमतोका कारण काममा ढिलाइ भएको आशंका व्यक्त गरेका छन्।समयमै काम सम्पन्न नगर्दा पनि ठेकेदार कम्पनीमाथि प्रभावकारी कारबाही नहुनु शंकास्पद रहेको उनीहरूको आरोप छ।
निर्माण क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार सार्वजनिक पूर्वाधार निर्माणमा राजनीतिक पहुँच भएका निर्माण व्यवसायी संलग्न हुँदा कतिपय अवस्थामा अनुगमन र कारबाही प्रक्रिया कमजोर हुने गरेको देखिन्छ।यसले निर्माण कार्यको गुणस्तर र समयसीमामा प्रत्यक्ष असर पार्ने उनीहरूको भनाइ छ।पुल निर्माणको काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।पटक–पटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको उनीहरू बताउँछन्।
यता,यस विषयमा निर्माण कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्दा बागमती प्रदेशका निवर्तमान मुख्य मन्त्री एवम नुवाकोट क्षेत्र नम्बर २ प्रदेश सभा ख का प्रदेश सभा सदस्य लामाको फोन उठेन भने सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा क का प्रदेश सभा सदस्य बम्जनको मोवाईल अफ छ ।जिल्लास्थित सम्बन्धित सरकारी कार्यालयले निर्माण कम्पनीलाई काम तीव्र बनाउन निर्देशन दिइएको जनाएको छ।तोकिएको समयभित्र काम सम्पन्न नगरे कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।तर विगतमा पनि यस्तै चेतावनी दिइएता पनि प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीयले सरकारी प्रतिबद्धता प्रति विश्वास गर्न सकेका छैनन्।
विकास निर्माणलाई राजनीतिक प्रभावभन्दा माथि राखेर जनताको हितलाई प्राथमिकता दिनुपर्ने आवाज स्थानीयस्तरमा उठ्न थालेको छ।प्रदेश सभा सदस्यकै निर्माण कम्पनीको लापरबाहीका कारण पुल वर्षौंदेखि अलपत्र पर्दा जनताले विकासको अनुभूति गर्न नसकेको गुनासो व्यापक छ।सम्बन्धित निकायले समयमै हस्तक्षेप गरी निर्माण कार्य सम्पन्न गराउन नसके जनआक्रोश अझ बढ्ने जानकारहरु बताउँछन् ।