स्थानीय तहको उप निर्वाचनका लागि सुरक्षा दुष्टिकोणबाट कुन स्थान अतिसंवेदनशील रहेको भन्ने विवरण सार्वजनिक भएको छ ।आगामि मंसिर १६ गते हुन लागेको स्थानीय तहको उप निर्वाचनमा प्राथमिकता हेरेर सात हजार दुई सय प्रहरी परिचालन गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको छ।सुरक्षा विश्लेषणको आधारसहित प्रहरीले प्रस्तावित “सुरक्षा योजना”गृह मन्त्रालयमा आईतबार प्रहरी प्रधान कार्यालयले पेश गरेको नेपाल प्रहरीका प्रवक्ता दान बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी गाउँपालिका,रुकुम पूर्वको पुथा उत्तरगंगा र जाजरकोटको नलगाड नगरपालिकालाई “अति संवेदनशील”क्षेत्रमा प्रहरीले वर्गीकरण गरेको छ ।सप्तरीको डाक्नेश्वरीमा वडाध्यक्ष,पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र नलगाड नगरपालिकामा उपप्रमुखको निर्वाचन मंसिर १६ गते निर्वाचन हुँदैछ ।
प्रहरील संवेदनशील मानेको मतदानस्थलमा २०७९ मा केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको भन्दा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।२०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको विश्लेषणका आधारमा प्रहरीले ५४ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रमा वर्गीकरण गर्न प्रस्ताव गरेको प्रवक्ता कार्कीले बताए ।४७ वटा मतदानस्थललाई संवेदनशील र ६२ वटा मतदानस्थललाई सामान्य मतदानस्थलमा प्रहरीले वर्गीकरण गरी सुरक्षाकर्मी प्रस्ताव गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।मंसिर १६ गते ३३ जिल्लाका विभिन्न स्थानीय तहहरुमा ४४ पदका लागि उप निर्वाचन हुँदैछ ।