सर्लाहीको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेकाले छानविन गरी कारवाही गरी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पती सुद्धिकरण अनुसन्धान विभाग र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी परेको छ ।
अन्य कुनै व्यापार/व्यावसाय नभएका सांसद डा.सिंहले नेपालमा नेवारी समुदायका व्यापारीहरुले १२ पुस्तासम्म उद्योग व्यवसाय गर्दा पनि कमाउन नसकेको सम्पत्ति र नेपालमा मारवाढीहरुले चार पुस्तादेखि उद्योग कलकारखाना संचालन गरेर पनि कमाउन नसकेको सम्पत्ति १८ वर्षमै राजनीति गरेर कमाएका र त्यसको वैद्य कुनै स्रोत नरहेको भन्दै गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेकाले छानविन गरी कारवाही गरी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास,सम्पती सुद्धिकरण अनुसन्धान विभाग काठमाण्डौँ र प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालय सिंहदरवारमा उजुरी परेको हो ।

२०८० बैशाख २५ गते दर्ता भएको उजुरीमा“नेपालको जनआन्दोलन २ पश्चात वि.स. २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिका सांसदको सदस्य बनेका डा.सिंहसँग तत्कालिन समयमा पैतृक सम्पत्तिको रुपमा सर्लाहीको बलरा नगरपालिकामा करिब एक बिघा १० कठ्ठा जग्गा र सो जग्गाको मोल करिब रु २० लाख मात्रै रहेको भएपनि उनी सासंद बनेको केही समय पश्चात नै आफ्नो गाउँमा करिब दुई बिघा जग्गा खरिद गरिएको सोही जग्गामा सुविधा सम्पन्न साढे दुई तल्ले पक्की घर,मलगंवामा आफ्ना भाईको नाममा करोडौ मुल्य पर्ने बहुमुल्य घडेरीहरु,झापाको भद्रपुरमा करिब रु छ करोड भन्दा पनि बढी पर्ने बहुमुल्य जग्गा आफ्ना ससुरा सुरेश सिंहको नाममा खरिद,आर्थिक वर्ष २०७५।०७६ मा व्यस्थापिका संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा डा.सिंहले चल अचल सम्पत्तिको रुपमा रहेको सुन ४० तोला चाँदी दुई सय तोला र एक क्यारेट हिरा मात्र रहेको भनी उल्लेख गरेका भएपनि उनी सासंद बनेको केही बर्षमै ललितपुर उपमहानगरपालिका ४ सैंबुको कित्ता नं १००९ र कित्ता नं.८५१ मा डा.सिंह र उनकी भाउजु मनोरमा सिंहको नाममा करिब रु ५० करोड भन्दा पनि बढीको मुल्याकंन रहेको डेढ रोपनी जग्गामा सुविधा समपन्न तीन तल्ले तथा चार तल्ले घर निर्माण गरी उक्त घरमा निज डा.सिंह स्वयंम बसीरहेका,ललितपुरकोा मेडिसीटी अस्पताल नजिकै ललितपुर उपमहानगरपालिका ८ सैंबुको कित्ता नं. ८८४ कित्ता नं ८८५ तथा कित्ता नं ८८६ मा रहेको जम्मा डेढ रोपनी जग्गा करिब रु २५ करोड भन्दा पनि बढीका,ललितपुर उपमहा नगरपालिका १७ मा पनि सांसद डा.सिंहकोे आफ्नै बहिनीको नाम राखि चार तल्ले घर सहितको घडेरी,बहिनी ज्वाई संजय झाले संचालन गरेका केन्ट कलेज र एपी कलेज वुद्वनगरमा डा.सिंहको करोडौ मुल्य पर्ने सेयर,बैकं संचालक समेत रहेका बासु श्रेष्ठको नाममा काठमाण्डौका व्यपारीसँग विभिन्न बैंकमा सेयर खरिद गरेका र काठमाण्डौका छाउनी कोलोनीमा समेत सेयर लगानी,कालिमाटी तथा फलफुल व्यापारीहरु र कबाडी सामाग्री संचालकहरुलाई सांसदडा.सिंहले मिटर ब्याजमा ऋण लगानी गरी अनुचित रुपमा ब्याज समेत लिई गैर कानुनी कामकाज गर्दै आएका,भारतको नयाँ दिल्लीमा आफ्नी दाजु शैलेन्द्र कुमार सिंहको कान्छी बुहारी मेघाली मजुमदारको नाममा करिब भारु छ करोड भन्दा बढीको घर फल्याट खरिद, सांसद डा. सिंहले दोस्रो पत्नि लक्ष्मी जोशीको नाममा समेत विभिन्न बैंक तथा वित्तिय संघ संस्थामा सेयर लगानी गरी नेपालका विभिन्न ठाउँमा बहुमुल्य घर घडेरी खरिद गरेका र उनले प्रयोग गरि रहेको बा १५ च ११४३ नं को स्कोरपियो पनि अरुको नाममा राखी नेपाल सरकारलाई छल गरेका,बलरामा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा पहिले देखि निर्माण रहेको भवन तथा सभाहललाई देखाएर संसदिय विकास कोषबाट करिब रुएक करोड बराबरको योजना ल्याई उक्त रकम संसदिय पुर्वाधार विकास कोषबाट निकासा समेत गराएका”कारण सांसद डा.सिंहलाई नेपालको संविधान,भष्ट्रचार निवारण ऐन,२०५९ तथा सम्पत्ति शुद्विकरण निवारण ऐन,२०६४ अनुसार कार्बाही गरी पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पती सुद्धिकरण अनुसन्धान विभाग र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी परेको पाइएको छ ।
सांसद डा.सिंहले १५ वर्षमा कसरी कमाए अकुत सम्पत्ति ?
तँ उद्योग खोल्लास्,ऊ पार्टी खोल्छ,तँ बैंक ऋण खोज्लास्,ऊ चन्दा–फिरौती लिन्छ ।तँ मजदुर भर्ना गर्लास्,ऊ कार्यकर्ता भर्ना गर्छ ।तँ सामान बनाऊँ भन्लास्,ऊ देशै बनाऊँ भन्छ ।ए बाबु,कुरो बुझ है,उद्योग नखोल,पार्टी खोल ।।
आज भन्दा २० वर्ष अगाडि कृष्ण मुरारी गौतमले लेखेको यो कविताको अंशलाई जसले व्यंग्य मात्र ठाने,उनीहरु अहिले पनि सडकमा लखर लखर हिडिरहेका छन् ।ऋणले चुर्लुम्म डुवेका छन् ।जसले गुरुमन्त्र ठाने,उनीहरु राजनीतिक व्यवसाय गरेर छोटो समयमा अर्बपति पनि बनेको छन् । यो यस्तै राजनीतिमा लागेर छोटो समयमै अर्बपति बनेका पात्रमध्ये एक उद्धाहरण पात्र हुन सांसद डा.सिंह ।
सांसद डा.सिंह राजनीतिमा किन लागे ?राजनीतिमा लागेको छोटो अवधिमै के कसरी अर्बपति बने?भन्ने विषयमा अहिले चोकचौताराहरुमा निकै चर्चा परिचर्चा हुन थालेको छ किन भने उनले फिल्मी शैलीमा राजनीतिमा आगमन गरे र सम्पत्ति आर्जन गरे ।सबै पेशा वा व्यवसाय असफल भएपछि २०६३ सालमा ३४ वर्षको उमेरमा सांसद डा.सिंहले राजनीति सुरु गरेका हुन् ।नेपालमा २०६२–२०६३ सालको जनआन्दोलन हुँदा उनी दिल्लीमा घरमा ट्युसन पढाउँदै र पढ्दै गर्थे।त्यही बेला उनले सी ग्रेडका केही भारतीय नेता र नेपालका केही माओवादी नेतासँग सम्पर्क बढाएका थिए ।

राजाको सक्रीय शासनका बेला संसदवादी दलका केही नेताहरु पनि स्वदेशमा बस्न नसक्ने अवस्था बन्यो र उनीहरु पनि दिल्ली गए।सांसद डा.सिंहका बंगालीमूलका एक जना साढुभाई भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीका मान्छे थिए।उनैलाई प्रयोग गरेर सांसद डा.सिंहले माओवादी नेता र भारतीय कम्यूनिष्ट पार्टी र एमालेका नेताबीच चिनजान गराई दिए ।संयोगले दिल्लीमा संसदवादी दल र माओवादीवीच १२ बुँदे सम्झौता भयो ।चतुर सांसद डा. सिंहले यो सम्झौता आफूले गराइदिएको भन्न थाले।माओवादी,एमाले र कांग्रेसका सी ग्रेडका कतिपय नेताहरुले विश्वास पनि गरे किनकी स्कुल पढ्दादेखि नै नाटकको क्षेत्रमा सांसद डा.सिंह सिंश खप्पिस थिए ।
त्यसपछि उनी एक साप्ताहिक पत्रिका चलाउने व्यवसायीको गाडी चढेर पुष्पकमल दाहाल(प्रचण्ड)कहाँ पुगे।प्रचण्ड कहाँ पुगेर आफू गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट रहेको विश्वास दिलाए।यसपछि उनलाई प्रचण्ड र कोइरालाको ढोकाभित्र छिर्न कुनै समस्या परेन ।२०६३ सालको परिवर्तनपछि उनी नेपाल आए।महन्थ ठाकुरको गाडीमा बसेर कोइराला भेट्न पुगे।कोइरालासँगको भेटघाटमा उनले प्रचण्डसँग आफ्नो अति नै निकट सम्बन्ध भएको विश्वास दिलाए।एक साप्ताहिक पत्रिका चलाउने व्यवसायीको गाडी चढेर प्रचण्ड कहाँ पुगे।प्रचण्ड कहाँ पुगेर आफू गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट रहेको विश्वास दिलाए।यसपछि उनलाई प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको ढोकाभित्र छिर्न कुनै समस्या परेन।त्यस पछि पत्रकार ऋषि धमलाको पछि लागेर भारतीय राजदूतावास भित्र छिरे।त्यहाँ पुगेर आफू प्रचण्ड र गिरिजाप्रसाद कोइराला दुवै जनाको अत्यन्तै निकट बनेको र दिल्लीको साउथ ब्लकमा आफ्ना नातेदारहरुको बलियो पकड रहेको विश्वास दिलाए ।
यसपछि जुनसुकै सर्वदलीय बैठकमा पनि उनी सरासर जान थाले।कांग्रेसलाई लाग्थ्यो, माओवादीको मान्छे होला।माओवादीलाई लाग्थ्यो कांग्रेसको मान्छे होला तर एकदिन सर्वदलीय बैठकमा अमिक शेरचनले उहाँ को हो?के हैसियतले बैठकमा आउनुभएको हो?भनेर कोइरालालाई सोधे।कोइरालाले भने“तपाँइहरुको मान्छे होइन र उहाँ ?”यसपछि सबै मुखामुख गर्न थाले।कालोनिलो भएका सांसद डा.सिंहले आत्तिँदै जवाफ दिए“१२ बुँदै सम्झौताको एउटा पक्षको प्रतिनिधित्व गर्दै यहाँ आएको हुँ।अन्यथा नलिनु”तर नेताहरुले शंका गरेकोले भोलिपल्ट देखि उनलाई बालुवाटर छिर्न रोक लगाइयो तर उनी नेपाली कांग्रेसको कोषाध्यक्ष महन्थ ठाकुरको चालक तथा स्वकीय सचिव बनेर बलुवाटार छिरिरहे।प्रधानमन्त्री कोइरालाले पनि खासै आपत्ति जनाएनन् ।
२०६२÷०६३ सालको जनआन्दोलनपछि संसद छिरेका उनले त्यसपछि आर्थिक हैसियत यसरी बढाए कि उनलाई नजिकबाट चिन्ने साथीहरु नै जिल्ल परे।जब २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसका अधिकांश नेताहरुले पार्टी छाडी मधेसी दलहरु तर्फ लागे। तब सांसद डा.सिंहले कांग्रेसभित्र स्थान बनाए।२०६४ सालको संविधान सभा निर्वाचनमा पराजित भएका उनले २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सर्लाही क्षेत्र नं ४ बाट प्रत्यक्षतर्फको टिकट पाए ।
सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसको अत्यन्तै उर्वर ठाउँ हो।ठाकुरले कांग्रेस छाडेपछि त्यो क्षेत्र सांसद डा.सिंहले पाए ।ठाकुरलाई हराउँदै चुनाव जितेपछि उनले देशव्यापी चर्चा पाउनु स्वभाविकै थियो।२०६४ सालको संविधानसभा चुनाव अघिसम्म उनी काठमाडौं बुद्धनगरको एउटा छिँडीको कोठामा बस्थे।थोत्रो मोटरसाइकल थियो।केही उच्च माध्यमिक विद्यालयमा हेलमेट टिचरका रुपमा पढाउँथे तर २०६४ सालपछि उनको आर्थिक हैसियत एकाएक उकालो लाग्यो ।
त्यसपछि उनले “तपाँइलाई टिकट मैले मिलाइ दिएको हो,मलाई चुनाव खर्च चाहियो”भन्दै पैसा उठाउने धन्दा सुरु गरे।कांग्रेसको टिकट पाएका अन्य सिधासाधा कार्यकर्ताहरुले चन्दा पनि दिए ।संसद भइसकेपछि भने उनको धन्दा धेरै नै फष्टायो।नेपालको राजनीतिमा भारतको प्रभाव हावी छ भनेर कम्युनिष्टहरुले त नेपालीहरुको दिमाग भुटिदिएकै थिए ।त्यसमाथि एउटा साप्ताहिकमा नियमित समाचार आउन थाल्यो“सांसद डा.सिंह भनेका भारतको अत्यन्तै नजिकका मान्छे हुन्।उनले जसलाई चाहन्छन्,उसलाई मन्त्री बनाउन सक्छन् ।राजनीतिक नियुक्ति दिलाउन र चुनावमा टिकट दिलाउन सक्छन्।”मिलेमतोमा लेखिने यो समाचार सांसद डा.सिंहको धन्दाका लागि विज्ञापन थियो।खरदारको सरुवाका लागि समेत उनीकहाँ मान्छे पुग्न थाले।काम बन्यो भने मैले गरिदिएको भन्दै मोटो रकम लिने।काम नबने अर्को लटमा हुन्छ भन्दै थुमथुम्याउने गर्न थाले ।
सर्लाहीकै कांग्रेस नेता विकासकुमार ठाकुरका अनुसार नेपालका २५ जना धनी व्यक्तिहरुको सूची तयार गर्ने हो भने सांसद डा.सिंहको नाम पनि आउँछ।उनको भारत,अष्ट्रेलिया,पोर्चुगल लगायत करिव ११ वटा देशमा घर जग्गा तथा व्यवसाय भएको बताइन्छ।त्यो बेला भारतीय दूतावासले स्थानीय तहमै सिधै रु दुई करोडसम्मका परियोजनामा प्रत्यक्ष आर्थिक सहयोग गथ्र्यो ।दुतावासका केही कर्मचारीहरुसँग मिलेर आफ्नो निर्वाचन क्षेत्रमा करिव ७० वटा यस्ता परियोजना लगे करिब आधा रकम अनियमितता भयो ।कांग्रेस नेता ठाकुरका अनुसार उनको भारतमा चार वटा पाँचतारे होटलमा ठूलो लगानी छ।त्यो लगानी हेर्ने जिम्मा सांसद डा.सिंहले मजुमदार थरका साढुभाईलाई दिएको बताइन्छ ।
सांसद डा.सिंहको राजनीतिक सुरुवातदेखि अहिलेसम्म नजिकबाट चिनेका सर्लाहीकै कांग्रेस नेता ठाकुरका अनुसार जनयुद्धकालमा शान्तिको पहल गर्ने नेताको पछाडि लागेर माओवादीको हवाला दिँदै व्यापारी धम्काउँदै करोडौं असुलेका सांसद डा.सिंहले अकुत सम्पत्ति जोडेका छन् ।उनले आर्जन गरेको अकुत सम्पत्ति छानविन हुने संभावना पछिल्ला दिनमा बढेको छ तर विदेशमा रहेको सम्पत्ति छानविन गर्न सहज छैन ।नेपाल भित्रै रहेको सम्पत्ति पनि कहाली लाग्दै छ ।राजधानी काठमाडौंमा उनका चार वटा स्कुल तथा कलेज र तीन वटा आलिसान बंगला छन् ।
राज्य सञ्चालकलाई भारतको डर देखाएर प्रहरी र कर्मचारी सरुवा बढुवाबाट पनि उनले अकुत सम्पत्ति आर्जन गरेका स्रोतको दाबी छ।उनको वास्तविक हैसियत थाहा भएपछि प्रहरीहरु नै अनुसन्धानका लागि अघि बढेका छन् ।आफू कुनै पनि बेला अकुत सम्पत्ति कमाएको अभियोगमा जेल जानुपर्ने संकेत देखेर अतालिएका सांसद डा.सिंहले यतिबेला अत्यन्तै चर्का कुरा गर्न थालेका छन् ।
“अक्टोपस”को नामले चिनिने सांसद डा.सिंहको १५ वर्षको अवधिमा बिना कुनै व्यवसाय काठमाण्डौमा तीन वटा घर,सयौँ रोपनी जग्गा,महंगा गाडीहरु कुन नैतिकता र इमान्दारिताको पैसाले किनिएका छन् जवाफ कसैसँग छैन?”सांसद डा.सिंहलाई दलाल र भ्रष्टाचारीहरुको रक्षक भन्दै “अक्टोपस”को सम्पति छानविन गर्न सम्पति शुद्धिकरण विभागको यसअघिपनि ध्यानाकर्षण गराएको थियो ।
२०७९ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सांसद डा.सिंहलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रको बाहनामा कांग्रेसका बागी उम्मेदवार बनेका उनले निर्वाचन त जिते तर अहिले जनता पच्छुताएका छन् ।उनी आफ्नो निर्वाचन क्षेत्र आउँदा राजा आए झौ तामझाम हुने गरेकोमा अहिले कुनै मानिसहरुले वास्ता गर्दैनन् ।उनी चोक चौतारामा मानिसहरु बसेको ठाउँमा गएर जनता भेटघाटको हवाला दिने गरेका सर्लाहीका कांग्रेस नेताहरु नै बताउँछन्।कांग्रेस नेताहरुले उनको पछिल्ला विभिन्न किसिमका गतिविधिहरुबाट राजनीतिक संस्कार नभएको मानिस सांसद डा. सिंह समेत भन्न थालेका छन् ।
डा.सिंहले छोटो समयमा आर्जन गरेको अकुत सम्पत्तिको स्रोत समेत खुल्ने गरि कानुन बमोजिम छानविन गरि निजलाई हदैसम्मको कारवाही गरी पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पती सुद्धिकरण अनुसन्धान विभाग र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी परेपछि उनी सांसदमा झन चर्काे स्वमा उर्लिन थालेका छन् । उनले आर्जन गरेको कुनै पनि सम्पत्तिको आधार तथा स्रोत खुलाउन नसकेका उजुरीमा लेखिएको छ । सो विषयमा बुझ्न सांसद डा.सिंहलाई फोन गर्दा उनले फोन उठाएनन् ।