हरिपुर्वा सवस्टेशन दशैँअघि नै संचालनमा आउने

407 Shares

सर्लाहीको हरिपूर्वा नगरपालिका २ मा निर्माणभएको सवस्टेशन दशैँअघि नै सञ्चालनमा आउने भएको छ।निर्माण सम्पन्न भएको करिब दुई वर्षपछि पोलतारको विवाद समाधान भएपछि सवस्टेशन दशैँअघि नै सञ्चालनमा आउने भएको हो ।सवस्टेशन निर्माण भएको करिब दुई वर्षसम्म पनि पोलतारको विस्तारमा विवाद भएपछि सञ्चालनमा आउन नसकेको हरिपुर्वा सवस्टेशन दशैँ अघिनै सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।
उनका अनुसार हरिपूर्वा बजार क्षेत्र र ईश्वरपुर नगरपालिका १३ स्थित श्रीनगर बजार क्षेत्रमा बिजुलीको पोल गाड्ने तथा तार तान्ने विषयमा लामो समयसम्म विवाद हुँदा सवस्टेशन निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन् ।प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरबाटै प्राविधिकसहितको टोली खटिएर केही साताअघि मात्रै हरिपूर्वामा बिजुलीको पोल गाड्ने तथा तार तान्ने काम सम्पन्न गरेका प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरले जनाएको छ ।
हरिपूर्वामा यसअघि गाडेर ढलेका दुईवटा पोल उठाउन बाँकी रहेको बाहेक अब पोल गाड्ने र तार टाङ्ने काम करिब पूरा भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरले जनाएको छ।अब विद्युत् सवस्टेशन चार्ज गर्नुअघि आम सर्वसाधारणलाई तार नछुन आग्रह सहितको एक हप्ते सूचना प्रकाशित गर्ने तयारी रहेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।
त्यसपछि सवस्टेशनको ट्रान्सफर्मर चार्ज गर्न एक हप्ता लाग्ने र यि सबै काम एक महिना भित्रमा पूरा गरेर सवस्टेशन संचालनमा ल्याउने तयारी रहेको हो ।निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि पोल गाड्ने विषयको विवादले सवस्टेशन सञ्चालनमा आउन नसकेपछि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी र मलंगवा सहित जिल्ला प्रशासन कार्यालय मलंगवा,सर्लाही,ईश्वरपुर नगरपालिका,हरिपूर्वा नगरपालिका र प्रादेशिक कार्यालय जनकपुरले सक्रियता देखाएर पोल गाड्ने काम पूरा गरेका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
हरिपूर्वाको सवस्टेशन सञ्चालनमा नआउँदा जिल्लाको पूर्वी क्षेत्रमा मलंगवादेखि बत्ती लैजानु पर्दा लामो प्रशारण लाइनका कारण छिनछिनमै बत्ती कट्ने,बत्ती आउँदा भोल्टेज नहुने,कुनै प्राविधिक गढबढी हुँदा १२ घण्टा भन्दा बढी समय बत्ती नआउने जस्ता समस्या देखिने गरेका छन् ।हरिपूर्वाको सवस्टेशन सञ्चालन भएपछि जिल्लाको पूर्वी क्षेत्रकोे हरिपूर्वा र ईश्वरपुर नगरपालिका सहित ब्रह्मपुरी,पर्सा र चन्द्रनगर गाउँपालिकाको विद्यूत् नियमित हुनुका साथै भोल्टेजको समस्या समाधान नहुने प्राविधिकले बताएको छ ।
पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरबाट ल्याइएको ३३ केभी प्रसारण लाइन जोडेर इश्वरपुरको श्रीनगर,हरिपुर्वाको वसन्तपुर,हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सवस्टेशनमा लाईन पुर्याइने छ । सवस्टेशनबाट ११ केभीको दुईवटा फिडरबाट उपभोक्तालाई बिजुली वितरण गर्ने प्राधिकरणको तयारी रहेको छ ।

सम्बन्धित समाचार