सर्लाहीको हरिवन नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएको करिब दुई महिना बित्नै लाग्दा पनि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रति हरिवनका क्रियाशिल राजनैतिक दलहरुले आपत्ती जनाएका छन्।“हरिवन नगरपालिकाको नगर सभा सम्पन्न भएको लामो समय वितिसक्दा पनि आर्थिक वर्ष २०८१/०८२ को बजेट नआएको र हरिवन नगर भित्र देखिएका समसामयिक विषय प्रति”हरिवनका क्रियाशिल राजनैतिक दलहरुले शनिबार एक संयुक्त प्रेश विज्ञप्ती मार्फत गम्भिर ध्यानाकर्षण भएको बताएका हुन ।
नेकपा(माओवादी केन्द्र) हरिवन नगरकमिटि अध्यक्ष ताराराज पन्त(अर्जुन)को अध्यक्षतामा नेपाली कांग्रेस हरिवन नगर समिति सभापति रामशरण उप्रेती,नेकपा(एमाले)हरिवन नगर कमिटि अध्यक्ष सिताराम पोखरेल,नेकपा(एकिकृत समाजवादी)का हरिवन नगर कमिटि संयोजक भरत कुमार कार्की,राष्ट्रिय प्रजातन्त्रपार्टी हरिवन नगर समिति अध्यक्ष विनय न्यौपाने रजनता समाजवादी पार्टी(जसपा)नेपाल हिरवन नगर समिति अध्यक्ष सन्तोष भुजेल लगायतको हस्ताक्षरमा जारी गरिएको संयुक्त प्रेश विज्ञप्ती “हरिवन नगरपालिकाका जनताका विकाश र समृद्धिको आंकाक्षालाई पुरा गर्न तुरुन्त हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट ल्याउन हरिवन नगरपालिका/नगर कार्यपालिकाको ध्यानाकर्षण गर्न चाहन्छौं ।”उल्लेख गरिएको छ ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र उप प्रमुख हरिमाया घलानका साथै अन्य जनप्रतिनिधिहरु विचमा भएको आपसी विवादका कारण हरिवन नगरपालिका स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को व्यवस्था विपरित सञ्चालन भएको स्थानीय जानकारहरु बताउँछन्।स्थानीयका अनुसार कुनैपनि सदस्य समेत नजितेका माओवादी केन्द्रका नेता समेत रहेका नगर प्रमुख बुढाथोकी सहित हरिवन नगरपालिकाका सबै जनप्रतिनिधिहरुको लाचारी र गैर जिम्मेवारीपनका कारण हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।आफुलाई बालेन तथा हर्कको उपनाम दिने नगर प्रमुख बुढाथोकीबाट निर्वाचन ताका बोलिएका रजनतालाई देखाएका आशा अपेक्षा पुरा हुने अवस्था नरहेको समेत स्थानीयले गुनासो गरेकाछन् ।
कानुनी व्यावस्था के छ ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले साउन १ बाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन अर्थात् बजेट होलिडे हुन्छ,तर,यो कानूनी व्यवस्था विपरीत सर्लाहीको हरिवन,बागमती,मलंगवा र बलरा नगरपालिकाका साथै विष्णु र पर्सा गाउँपालिकाले बजेट नै ल्याउन सकेका छैनन् ।बजेट पारित नगरी गरेको खर्च अनियमितता गरेको ठहरिने कानुनी व्यवस्था छ ।
“कानुनी रुपमा असार मसान्तसम्म बजेट नल्याउने स्थानीय तहले साउन १ गतेबाट खाता बन्द नै गर्नुपर्ने र त्यसो नभए सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृत,आर्थिक प्रशासन विभाग प्रमुख र खाता सञ्चालन गर्न दिने कोष लेखा नियन्त्रण कार्यालयको प्रमुखलाई कारबाही हुने कानुनी व्यावस्था छ ।”
स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ६९ अनुसार “स्थानीय सञ्चित कोषबाट मात्रै रकम खर्च गर्नुपर्दछ।उक्त कोषको रकम खर्च गर्न स्थानीय तहको सभाले पास गरेको वार्षिक कार्यक्रम (बजेट) अन्तर्गत मात्रै गर्नुपर्दछ।सो दफा अनुसार स्थानीय तहको सभाले बजेट पास नगरी आर्थिक वर्षको कुनै पनि खर्च गर्न पाइँदैन।”साथै बजेट ल्याएका स्थानीय तहहरुले मन्त्रालयमा अद्यावधिक गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।
बजेट ल्याउन नसक्नुको कारण के ?
जनप्रतिनिधिबीच सरकारको स्रोत कसले बढी दुरुपयोग गर्ने भन्ने विषयमा कुरा नमिल्दा समयमा बजेट आउन नसकेको जानकारहरु बताउँछन्।स्थानीय तहका प्रमुख,उपप्रमुख तथा वडाअध्यक्षहरु निर्वाचित हुँदा नै करोडौं रुपैयाँ खर्च गर्ने र बजेटलाई त्यो रकम अशुल गर्ने माध्यम बनाउँदा यस्तो भएको जानकारहरुको भनाइ छ।“स्थानीय तहहरुले बजेट बनाउने क्रममा मेरै वडामा यति देऊ,अर्को वडामा यति देऊ भनेर माग्छन्,त्यही विषयमा उनीहरुबीच कुरा मिल्दैन र स्थानीय तहको सभा नै बस्न सक्दैन।सभा बस्न नसकेपछि बजेट ल्याउन सकिन्न।”उनीहरुको भनाई छ ।
“राज्यको स्रोत दुरुपयोग गर्ने विषयमा आफ्नै पार्टीका प्रतिनिधिहरुबीच पनि कुरा मल्दैन।यस्तो वित्तीय अराजकता स्थानीय तहमा छ।एउटै पार्टीको बहुमत भएका स्थानीय तहले पनि बजेट ल्याउन नसकेका पाइएको जानकारहरुको भनाई छ।कतिपय स्थानीय तहमा कर्मचारीको पनि अभााव,प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी उपसचिवको हुने भएपनि खरिदारले करोडौं रकम चलाइरहेका लगायतका कारण पनि निर्धारित समयमा बजेट आउन नसकेको जानकारहरुको आंकलन छ।कर्मचारीहरुमा पनि काम गर्ने भन्दा पनि केही वर्षमै करोडपति भइहाल्ने मानसिकता रहने गरेका कारणपनि समस्या भएको केही जनप्रतिनिधिहरु नै बताउँछन् ।
“राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय अनुशासन कायम नगर्ने स्थानीय तहको बजेट कटौती गर्न सक्छ,त्यसमार्फत दण्डित नगर्ने हो भने यो प्रवृत्तिमा सुधार नहुने”राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।भने कतिपय पालिकाहरुले चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका भएपनि मन्त्रालयलाई जानकारी नगराएका र हरिवन तथा मलंगवा नगरपालिकाले वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याएपनि आफ्नो स्थानीय तहको वेभसाईट मन्त्रालयको वेभ साईटमा हालेका मन्त्रालय स्रोतले जनाएको छ ।