विश्वकर्मा पूजाको भोलिपल्ट बुधबार सर्लाहीको बागमती,फुलजोर र झिम लगायतका नदीहरुमा मूर्ति विसर्जन गरिएको छ।पूजा समापन भएपछि बुधबार बाजागाजा सहित गीत बजाउँदै र नाच्दै जिल्लाका स्थानीयले आफुहरुलाई पायक पर्ने नदीमा दर्जनौँ मूर्ति विसर्जन गरिएको हो ।
विश्वकर्मा पूजाको दिन मंगलवार विभिन्न मेसिन,उद्योग,कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो। सो दिन विश्वकर्माको मूर्ति बनाएर पूजा गर्ने चलन समेत रहेको छ ।पूजाका दिन मूर्ति घरमै राख्ने र भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन अनुसार जिल्लाका विभिन्न नदीहरुमा शान्तीपुर्ण रुपमा विश्वकर्माको मूर्ति विसर्जन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ ।