सर्लाहीको उत्तरी चुरे क्षेत्र अन्र्तगत पर्ने ईश्वरपुर नगरपालिका १२,घारिबथानमा बाढीले पाइप बगाएपछि खानेपानीको समस्या सृजना भएको छ।दुई साताअघि बाँके खोलामा आएको बाढीले खानेपानीको पाइप बगाइ दिएपछि इश्वरपुर नगरपालिका १२ घारिबथान क्षेत्रमा खानेपानीको अभाव सृजना भएको हो।बाढीले पाइप बगाएपछि इश्वरपुर नगरपालिका १२ घारिबथान क्षेत्रका करिब तीन सय बढी घरधुरीमा खानेपानीको समस्या परेका इश्वरपुर नगरपालिका १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिका १२ घारिबथान क्षेत्रका स्थानीयले अहिले आधा घण्टा भन्दा बढी समय लगाएर छिमेकी गाउँमा पुगी खानेपानी ल्याएर खाइरहेका छन्।खोलामा अझै धमिलो पानी आइरहेकाले खानेपानी सूचारु गर्ने काम सुरु हुन नसकेको वडा अध्यक्ष खत्रीले बताए ।खानेपानी सूचारु गराउन नगरपालिकामा जेसिबी र पाइप मगाइएको उनले बताए । खोलामा पानी घट्नासाथ उपभोक्ता र गाउँका अगुवासँग समन्वय गरी बाढीले बगाएको ठाउँमा पाइप बिछ्याएर खानेपानी सूचारु गर्ने वडा अध्यक्ष खत्रीले बताए ।
बाढीले पाइप बगाएर दुई सातादेखि धारामा पानी नआउँदा इश्वरपुर नगरपालिका १२ घारिबथान क्षेत्रका स्थानीयलाई पिउने तथा सरसफाई गर्ने पानीको समस्या सृजना भएको छ । सर्लाहीको चुरेभेगका अधिकांश बस्तीमा खोलामा इन्टेक राखेर पाइपमार्फत पानी ल्याएर खाने गरिएको छ ।
वर्षाको समयमा बाढी आएर इन्टेक तथा पाइप बगाउने समस्याले चुरेभेगका स्थानीय वर्षेनि समस्यामा पर्ने गरेका छन्।हिउँद याममा पानी सुक्ने चुरेभेगको घारिबथान,परवानीपुर, पत्थरकोट,नारायणखोला र अत्रौलीलगायत क्षेत्रमा वर्षायाममा बाढी आएर पाइप बगाउने समस्या देखा पर्ने गरेको खानेपानी तथा सरसफाई कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।