सरकारले उखुको समर्थन मुल्य तोक्न ढिलाई गर्दा उखु उत्पादक किसानहरु निराश बनेका छन्।मुल्य निर्धारण नहुँदा उखु उत्पादक किसानहरुले उखु काट्न पाएका छैनन्।चिनी मिल संचालन गर्न ढिलाई भएको छ।सर्लाहीस्थित इन्दुशंकर चिनी उद्योगले मिल सञ्चालन गर्नुअघि गरिने डोंगा पूजा गरे पनि मिल संचालनबारे भने अन्यौलता देखिएको छ ।
खेतको उखु काट्ने तयारी गरेका उखु उत्पादक किसानहरु मिल चलाएर उखु क्रसिङ सुरु गर्ने तयारीमा रहेका उद्योगी समर्थन मुल्य कुरेर बसेका छन् ।सरकारले मुल्य निर्धारण गर्नासाथ उखु काट्ने तयारीमा बसेका सर्लाहीका उखु उत्पादक किसानहरु अहिले निराश भएका छन् ।
यस वर्ष चित्त बुझ्दो मुल्य कायम नभए अर्को वर्षदेखि उखु खेती नै छाड्ने सोच बनाएको सर्लाहीको बरहथवा नगरपालिका ३ हजरियाका नन्दु चौरसियाले बताए ।चालु क्रसिङ सिजन २०८२/०८३ मा उखुको समर्थन मुल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइसकेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले बताए।उनका अनुसार लागत अनुसार उखुको मुल्य निर्धारण हुन नसकेको किसानहरुले गुनासो गरेका छन् ।कृषि मन्त्री र कृषि सचिवले उखुको मुल्य निर्धारण गर्न मङ्सिर २९ गतेसम्मको समय माग गरेको अध्यक्ष रायले बताए ।