मकवानपुरको इन्द्रसरोवर ३ स्थित सिस्नेरीमा अखिल नेपाल फुटबल संघ(एन्फा) ले राखेको युथ १४ क्याम्पमा मृत्यु भएका सर्लाहीको लालबन्दी नगरपालिका १७ का आदित्य बलम्पाकी मगरको शव पाँच दिन पछि घर ल्याएर परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।
एन्फाले मकवानपुरको इन्द्रसरोवर ३ स्थित सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा राखेर एन्फाले प्रशिक्षण गराइरहेको १४ वर्षमुनिका छ जना फुटबल खेलाडीको गएको शनिबार पहिरोमा परेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।असोज १२ गते शनिबार बिहान फेला परेको शव सोही दिन एन्फाले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित त्रिवी शिक्षण अस्पताल पु¥याएको थियो ।सोही अस्पतालमा पोष्टमार्टम पछि बुधबार पाँचौं दिनमा आदित्यको शव लालबन्दी नगरपालिका १७ रानिगन्जस्थित घर ल्याएर परम्परा अनुसार अन्त्येष्टि गरिएको पीडित परिवारले बताएका छन् ।
आदित्यको सोमबार नै ल्याईदिने एन्फाले बताएको भएपनि शव नल्याई दिएपछि पीडित परिवार र आक्रोसित स्थानीयले एन्फाको विरोधमा पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १७ रानीगन्जमा करिब साँढे २ घण्टा चक्का जाम समेत गरेका थिए ।बुधबार एन्फाले हेलिकप्टर मार्फत आदित्यको शव जनकपुर ल्याएर त्यहाँदेखि शव गाडीमा ल्याएर रानिगन्जदेखि शवयात्रा गर्दै बागमती नदीमा पु¥याएर परम्परा अनुसार अन्त्येष्टि गरिएको सर्लाही फुटबल संघका वरिष्ठ उपाअध्यक्ष विभु सिंह थापाले जानकारी दिए ।
उनका अनुसार एन्फाको लापरवाहीले आदित्यको मृत्यु भएको भन्दै रानिगन्जका स्थानीयले सोमबार दिउँसो पूर्व पश्चिम राजमार्गस्थित रानिगन्जमा करिब साँढे २ घन्टा चक्काजाम गरेका थिए ।केही समयअघि मात्रै टिपरको ठक्करबाट अर्का एक छोरालाई गुमाएको लालबन्दी नगरपालिका १७ रानीगन्जको बलम्पाकी परिवार आदित्यको मृत्युपछि विक्षिप्त बनेको छ।यस घटनापछि रानिगन्जका स्थानीय पनि शोकाकुल बनेका सर्लाही फुटबल संघका वरिष्ठ उपाअध्यक्ष थापाले बताए ।
मकवानपुरको इन्द्रसरोवर ३ स्थित सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा राखेर एन्फाले प्रशिक्षण गराइरहेको १४ वर्षमुनिका आदित्य सहित मकवानपुरका अनुपम घलान र साइमन योञ्जन तथा काठमाडौंका रियान्स आचार्य र बाराका विकल रेग्मी र दिवस बानियाँको पहिरोमा परेर शनिबार मृत्यु भएको थियो । एन्फाले राखेको युथ १४ क्याम्पमा रहँदै आएका ४० जना खेलाडीहरु मध्य छ जनाको ज्यान जानु र क्याम्पमा कुनै पनि क्षेती नहुनु लगायतका कारण एन्फाको लापर्वाही भएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् ।