सर्लाही प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।नेपालीहरुको महान चाड बढा दशैँ नजिकिएसंगै जिल्लाका चौक चौताराहरुमा यात्रुलाई सहज होस भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार जिल्लाको फुलजोर,लालबन्दी,नवलपुर,बागमती,बरहथवा र मलंगवामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
दशैँको मुखैमा स्थापना गरिएको यात्रु सहायता कक्ष छठसम्म रहने र चाडपर्वको समयमा यात्रा गर्दा सवारी साधनहरुले लिने भाडा र शान्ति सुरक्षाका अन्य विषयमा कुनै गुनासो भए यात्रुले सहायता कक्षमा रहने सुरक्षाकर्मीसँग सहयोग लिन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजोस घिमिरेले बताए ।उनका अनुसार चाडपर्वको समयमा यात्रुको ओहोर दोहोर निकै बाक्लिने भएकाले उनीहरुलाई भाडा र सुरक्षाका सम्वन्धमा कुनै पनि प्रकारको समस्या पर्न नदिन यात्रु यहायता कक्ष स्थापना गरिएको हो ।
यात्रु सहायता कक्षको बिहीबार प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले मलंगवामा औपचारिक उद्घाटन गरेका हुन।यो वर्ष चाडपर्वकै मुखमा बाढी,पहिरो र डुबानले जताततै सडक खराब भएकाले सावधानीपूर्वक सवारी साधन सञ्चालन गर्न र यात्रुहरुले पनि सतर्कता अपनाउन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले उल्लेख गरे ।चाडपर्वमा ओहोर दोहोर गर्ने यात्रुहरुसँगै अन्य सर्वसाधारणहरुको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंहले बताए ।
२० वटा पालिका रहेको सर्लाहीमा करिब ७० स्थानमा ईलाका प्रहरी कार्यालयहरु,प्रहरी चौकीहरुका साथै अस्थायी प्रहरी पोष्टहरु रहेका छन्।चाडपर्वको समयमा यात्रा गर्दा यात्रुहरुलाई कति कतै कुनै प्रकारको समस्या भएमा नजिकैको प्रहरी कार्यालय वा प्रहरी चेकपोष्टहरुमा आफ्ना समस्या राख्न पनि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सिंहले आग्रह गरेका छन् ।