सर्लाहीको बसबरिया गाउँपालिका ४ स्थित गोनरवामा पानीमा डुबेर एक बालको मृत्यु भएको छ।बसबरिया गाउँपालिका ४ गोनरवाका सुरेन्द्र भण्डारीका अन्दाजी १२ वर्षिय छोरा चन्दन भण्डारीको नहरको झाँझपुल स्थित जमेको पानीमा नुहाउन जाँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आफ्नै घर भन्दा करिब पाँच सय मिटर पुर्वमा रहेको नहरको झाँझपुल स्थित जमेको पानीमा नुहाउन गएका भण्डारीको पानीमा डुबेर मृत्यु भएको हो।नुहाउँन गएका भण्डारीको पानीमा डुबेको अवस्थामा माछा मार्ने मानिसहरुले देखी पानी बाहिर निकाली राखेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले भण्डारीलाई गोल्डेन अस्पताल बरहथवामा उपचारका लागि लगेको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।उपचारका क्रममा मृत्यु भएका भण्डारीको शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र अन्य अनुसन्धान समेत सुरु भएको प्रहरीले जनाएको छ ।
जिल्लाका नदी तथा खोलाहरु र ऐलानी जमिनहरुमा समय समयमा हुने अवैध दोहनका कारण हरेक वर्ष वर्षाको समयमा ठूलो मानविय तथा भौतिक क्षेती हुने गरेको पाइएको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार जिल्लाका स्थानीय तहहरुले नदीजन्य पदार्थहरुको निकासी पैठारीको ठेक्का लगाउने र राजश्व संकलनलाई प्राथमिकता दिने तर नियमनमा चासो नदिने गरेका कारण जिल्लाका खोालहरुका साथै नदीहरु र ऐलानी जमिनहरुमा ठेकेदारहरुले अवैध तरिकाबाट नदीजन्य पदार्थको उत्खनन् गर्ने र त्यसरी भएका खाल्डाहरुलाई समयमै नपुर्दा यस प्रकारका घटनाहरु घटि रहेको छन् ।
त्यसैगरी सर्लाहीको बलरा नगरपालिकाले बाढीमा डुबेर मृत्यु भएका दुई किशोरको परिवारलाई आर्थिक सहयोग गरेको छ।तीन दिनको अविरल वर्षापछि बागमती नदीमा आएको बाढीमा डुबेर मृत्यु भएका बलरा नगरपालिका १ का पवन गिरी र बलरा नगरपालिका ३ का अंकित ठाकुरको परिवारलाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहाले जानकारी दिए ।
दुवै मृतकको परिवारलाई घरमै पुगेर जनही रु २५ हजार आर्थिक सहयोग गरिएको र दुवै परिवारलाई नगरपालिकाको तर्फबाट एक/एक लाख प्रदान गरिने नगर पनि प्रमुख कुशवाहाले बताए । उनका अनुसार पीडित परिवारलाई तत्कालै आर्थिक समस्या परेकाले जनही रु २५ हजार नगदै प्रदान गरिएको र बाँकी रकम आवश्यक प्रक्रिया पूरा गरी केही दिनभित्रै बैङ्मा जम्मा गरिने छ।