दशैँको किनमेल गर्न लालबन्दी बजारमा सर्वसाधारणको भिड

370 Shares

सर्लाहीको लालबन्दी बजारमा दशैँको किनमेल गर्ने सर्वसाधारणहरुको अत्यधिक भिड लागेको छ।दशैँको मुखैमा प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा कपडा,खाद्यान्न,मरमसलालगायतका सर सामग्री किन्ने सर्वसाधारणहरुको अत्यधिक भिड लागेको हो।लालबन्दीमा सोमबार र बिहीबार गरी सातामा दुई दिन हाट बजार लाग्ने गरेको भएपनि चाडपर्वको समयमा अरुदिन पनि हाट बजारै लागेझैँ भिड लाग्ने गरेको छ।आगामी बिहीबार फूलपातीका दिन अब एउटा नियमति बजार लाग्ने छ।

त्यसअघिको सोमबारको बजारका साथै अन्य दिनपनि ठूलो संख्यामा सर्वसाधारण बजारमा आएर किनमेल गरिरहेका छन्।छिमेकी सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाका साथै सर्लाहीका गाउँगाउँबाट सर्वसाधारणहरु लालबन्दी बजार आएर आफुलाई आवश्यक पर्ने सामान खरिद गर्ने गर्दछन्।गाउँबाट लालबन्दी बजार आउने टेम्पु,म्याजिकका साथै बोलेरो र बस लगायतका सवारी साधनहरुलाई यात्रु ओसार्न भ्याइ नभ्याइ भएको छ ।अब दशैँका लागि तीन/चार दिन राम्रो व्यापार हुने व्यापारीले अपेक्षा गरेका छन्।दशैँका लागि खसिबोका किनबेच गर्न बिहान लालबन्दीको साझा संस्था स्थित लाग्ने खसीबोका बजारमा पनि अत्यधिक भिड देखिएको छ।बजारमा भिडभाड बढेसँगै स्थानीय प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

बजार क्षेत्रको सुरक्षार्थ सादा पोसाकका प्रहरी कर्माचारीहरुका साथै गस्ती टोली परिचालन गरी गस्ती बढाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम प्रहरी निरीक्षक सुजन पाठकले बताए।लालबन्दीसँगै जिल्लाका हरिवन,बरहथवा र बयलवास लगायतका बजारमा पनि मानिसको चहलपहल बढ्दो देखिएको भएपनि सदरमुकाम स्थित मलंगवा बजार भने सुनसान देखिएको छ।छिमेकी देश भारतसंग खुल्ला मिसाना रहेको र भारतिय बजार नजिकै रहेका कारण केही सस्तोमा सामानहरु पाउने आशमा मलंगवा क्षेत्रका सर्वसाधारणहरु सोनवर्षा र सितामणीका साथै छिमेकी बजारहरुमा जाने गरेका कारण मलंगवामा चाडपर्वको रौनक कम देखिने गरेको छ ।कोरोना महामारी पछि देशमा आर्थिक मन्दीका कारण आयआर्जन घट्दा आम सर्व साधारणलाई दशैँजस्ता चाडपर्वको खर्च जोहो गर्न नै समस्या पर्न थालेको छ ।
यता,पछिल्लो समयमा आएको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा काठमाण्डौँबाट देशका विभिन्न स्थानमा सञ्चालन हुने सवारी साधनहरुले चर्काे भाडा असुल्ने गरेका,चाडपर्वको समयमा सरकारले सडक इजाजत पत्र आवश्यक नपर्ने बताएको भएपनि सडक इजाजत पत्रको बाहनामा ट्राफिक प्रहरीले सवारी साधनहरुलाई अनावश्यक दुःख दिने गरेको  पाइएको  छ ।

सम्बन्धित समाचार