लालबन्दी १४ नारायण खोलामा बाटो मर्मत गरी बस सञ्चालन

482 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलामा क्षेत्रमा खोलाको बाटोबाट बस सञ्चालनमा आएको छ।मधेशको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ नारायण खोला क्षेत्रमा हिउँदको समयमा जसोतसो खोलाको बाटो भएर सवारी साधनहरु सञ्चालनमा आउने गरेका भएपनि वर्षा लागेपछि पुर्ण रुपमा सडक सम्बन्ध टुट्ने गरेको लालबन्दी नगरपालिका १४ नारायण खोलाका अध्यक्ष एवम यातायात व्यवसायी छेनाम सिंह घिसिङले बताए ।
उनका अनुसार यस वर्षपनि टुटेको सडक सम्बन्धलाई हिउँद लागेपछि साथै चाडपर्व नजिकिएपछि सर्व साधारणलाई लालबन्दी बजार आउन जान सहज होस भनेर स्कारभेटर,जेसीवी र व्याक होल्डरको सहायताले नारायण खोलामा सडकको स्वरुप बनाएर सवारी साधन सञ्चालन सुरु गरिएको हो ।
सर्लाहीका दुई सय वटा वडाहरु मध्य नारायण खोला सडक सञ्जालसंग नजोडिएको सर्लाहीको एक मात्रै वडा हो। गतवर्षहरुको तुलनामा यस वर्ष पछि सम्म वर्षा भएका कारण नारायण खोला जाने सडक सञ्चालनमा ढिला हुँदा दशैँका लागि आवश्यक सामान खरिद गर्न लालबन्दी आउन समस्या हुने चिन्ता लागेको भएपनि दशैँको मुखैमा भएरपनि सवारी साधनहरु सञ्चालनमा आउँदा आफुहरुलाई खुसी लागेको नारायण खोलाका शंकर घलानले बताए ।
लखन्देही र  डाइनी खोलाको बगर भएर नारायण खोला आवतजावत गर्नुपर्ने बाध्यताका साथै वर्षामा सवारी साधनहरु सञ्चालन नहुँदा जेठ मै जम्मा गरेको खाद्यान्न समेत सकिने अवस्थामा पुगेको र महान चाड दशैँ नजिकिएसंगै चिन्ता थपिएको सवारी साधन ञ्चालनमा आएपछि खुसी लागेको अर्का स्थानीय शुक्र तामाङले बताए ।असोज १० गतेदेखि १२ गतेसम्म भएको भीषण वर्षापछि बाढी आएर खोलाको बाटो भताभुङ्ग पारेको भएपनि खोलामा पानी घटेपछि बाटो मर्मतको काम अघि बढाइएको वडा अध्यक्ष घिसिङले बताए ।
लालबन्दी नगरपालिका १३,पत्थरकोट छेडा गाउँसम्म सडक पुगेको भएपनि लालबन्दी नगरपालिका १४ नारायण खोाला जान खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता साथै नारायण खोलाका स्थानीयलाई कुनैपनि सामान किनमेल गर्न लालबन्दी बजार नै आउनु पर्ने बाध्यताका कारण सवारी साधन सञ्चालन नहुँदा समस्या हुने गरेको छ ।गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेग अर्थात् सिन्धुलीको मरिणसँग सीमा जोडिएको गाउँका स्थानीयलाई पत्थरकोटस्थित छेडा गाउँसम्म आउन करिब तीन घण्टा भन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । 

सम्बन्धित समाचार