सर्लाहीको लालबन्दी नगर अस्पतालमा डिजिटल एक्सरे मेसिन जडान गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लालबन्दी नगर अस्पताललाई उपलब्ध भएको एक्सरे मेसिन प्राविधिक आएर जडान गरि दिएका लालबन्दी नगर अस्पतालका प्रमुख एवम मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार जडान गरिएको डिजिटल एक्सरे मेसिन परीक्षणस्वरुप केही बिरामीको एक्सरे समेत गरिएको छ।दशैँपछिबाट डिजिटल एक्सरे मेसिन नियमित सञ्चालनमा आउने लालबन्दी नगर अस्पताल स्रोतले जनाएको छ ।एक्सरे मेसिन सञ्चालनका लागि भन्दै लालबन्दी नगर अस्पतालमा रेडियोग्राफर नियुक्त गरि सकिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका मुमताज मिकरानीले जानकारी दिए ।
उनका अनुसार एक्सरेको रिपोर्ट हेर्न अस्पतालमा एक जना रेडियोलोजिष्टसहित अन्य चिकित्सकहरुको पर्याप्त व्यावस्था भएको छ ।सरकारी स्वामित्वको नगर अस्पतालमा एक्सरे मेसिन नहुँदा बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका र अव नगर अस्पताल मै डिजिटल एक्सरे मेसिन जडान भएपछि बिरामीहरुलाई अन्यन्त्र जानुपर्ने बाध्यता हटेको अस्पताल व्यावस्थापन समितिले जनाएको छ ।
नगर अस्पताल लालबन्दीमा पछिल्लो पटक प्रसुति तथा स्त्री रोग विशेषज्ञ,रेडियोलोजिष्टसहित अन्य विशेषज्ञ चिकित्सक राखेर स्वास्थ्य सेवा प्रवाहलाई सुधार गर्दै लगिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए । आफ्नो पहिलो योजना नै लालबन्दीको सरकारी स्वास्थ्य क्षेत्रको सुधार रहेको र सोही अनुसार काम गरि रहेको नगर प्रमुख अधिकारीले बताए ।