मधेश प्रदेश मै स्वास्थ्य क्षेत्रमा हरिवन पहिलो,लालबन्दी चौथो

65 Shares

सर्लाहीको हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश प्रदेश मै पहिलो भएको छ । स्वास्थ्य क्षेत्रमा सम्पादित कामको मूल्यांकनको आधारमा हरिवन नगरपालिका गत वर्ष र यस वर्ष पनि पहिलो भएको हो ।आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य सेवा तर्फका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरी निर्धाारित सूचकहरुको आधारमा प्रदेशभरका एक सय ३६ पालिकामध्ये हरिवन नगरपालिका पहिलो भएको मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।हरिवन नगरपालिकाले स्वास्थ्यतर्फ अघिल्लो आर्थिक वर्ष २०७९/०८० पनि मधेश प्रदेशमा पहिलो स्थान हाँसिल गरेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।
उनका अनुसार केही दिनअघि सम्पन्न जिल्लास्तरीय समिक्षा गोष्ठीमा समेत हरिवन नगरपालिका सर्लाहीका सबै २० पालिकामध्ये पहिलो भई सम्मानित भएको थियो।लगातार दुई वर्ष स्वास्थ्य सेवा तर्फ प्रदेश भरमा पहिलो स्थान हाँसिल गरी मधेश प्रदेशको समग्र स्वास्थ्य स्थिति सुधारमा पुर्याएको योगदानलाई कदर गर्दै प्रदेशको स्वास्थ्य निर्देशनालय जनकपुरले हरिवन नगरपालिकालाई सम्मान गरेको हो ।
प्रदेश राजधानी जनकपुरधाममा आईतबार आयोजित आर्थिक वर्ष २०८०/०८१ को प्रदेशस्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठीमा हरिवन नगरपालिकालाई सम्मान गरिएको मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको सचिवालयले जनाएको छ ।प्रदेशभरको स्वास्थ्य कार्यक्रमको समिक्षामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका दोस्रो र पर्साको ठोरी गाउँपालिका तेस्रो भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका मधेश प्रदेशमा चौंथो स्थानमा पुगेको छ ।
पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम,मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा,स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर,कुपोषित बालबालिका,क्षयरोग तथा एजआइभी सङ्क्रमित बिरामीको अवस्था र उपचारको स्थिति,सम्वन्धित निकायमा समयमै विवरण पठाएको लगायतलाई आधार मानेर पालिकाहरुको स्वास्थ्य कार्यक्रमको अवस्था मुल्यांकन हुने गरेको छ ।

सम्बन्धित समाचार