सर्लाहीको जिल्ला प्रशासन कार्यालय सहित सबै इलाका प्रशासन कार्यालयहरुमा नागरिकता लिने सेवाग्राहीको चाप बढेको छ।जिल्ला प्रशासन कार्यालय मलंगवा सहित ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवा दशैँ बिदा सकिएपछि खुलेसंगै नागरिकता बनाउने सेवाग्राहीहरुको चाप बढेको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार दुवै वटा ईलाका प्रशासन कार्यालयहरु सहित जिल्ला प्रशासन कार्यालयले समेत नयाँ तथा प्रतिलिपी नागरिकता बनाउन बनाउने र वितरण गर्ने गरेको भएपनि चाडपर्व सकिए लगतै यी कार्यालयहरुमा सेवाग्राहीहरुको चाप बढेको हो । ईलाका प्रशासन कार्यालय हरिवनमा दैनिक ४० देखि ४५ जना सेवाग्राही आउने गरेका भएपनि दशैँ बिदापछि ८० देखि ८५ जना सेवाग्राहीहरुको दैनिक आउने गरेका ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले बताए।उनका अनुसार विभिन्न काम तथा अध्यायनको सिलसिलामा जिल्ला बाहिर बस्ने मानिसहरुका साथै विद्यार्थीहरु दशैँ,तीहारको बिदा मनाउन घर आएका बेला नागरिकता बनाउन आउने गरेका कारण कार्यालयमा सेवाग्राहीहरुको चाप बढेको हो।जिल्लाका लालबन्दी र हरिवन,ईश्वरपुर र बागमती नगरपालिका कार्यक्षेत्र यस इलाका प्रशासन कार्यालय हरिवनमा दशैँ बिदापछि कार्यालय खुलेदेखि नै नागरिकता फाँटमा दिनभर नै सेवाग्राहीहरुको लाइन लाग्ने गरेको छ ।
त्यस्तै इलाका प्रशासन कार्यालय बरहथवामा पनि दशैँपछि दैनिक २० देखि २५ वटा नागरिकता जारी हुने गरेकोमा दशैँपछि दैनिक ५० वटासम्म नागरिकता जारी भइरहेको कार्यालयका निमित्त प्रमुख राजेश रायले बताए ।उनका अनुसार प्रायः तिहार र छठको बिचमा कार्यालय खुल्दा अत्यन्तै भिडभाड हुने गरेको छ ।