दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ।अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा व्यस्त छन्।घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर रङरोगन गर्ने चलन बसेको गृहिणीहरु बताउँछन् ।
यो दीपावली पर्व सबैतिर उज्यालो छर्ने मानिन्छ,त्यसैले पर्वमा घर सिँगार्ने गरेका छाँ”,लालबन्दी नगरपालिका ७ की विनिता यादवले बताईन्।“अहिले गरेको लिपपोत र रङरोगन घर सजाउनु मात्र नभई रमाइलो पनि हो।पर्वअघि छर छिमेकका सबै घर वरपरको सरसफाइ र रङरोगनमा लाग्दा कुनै खास उत्सवको झल्को दिने गरेको उनको भनाई छ ।
घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ।ग्रामीण महिला पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन्।यी चाडवाडका बेला कसको घर राम्रो लिपपोत र रङ रोगन भयो भन्ने गृहिणी बीचको छलफल र सँगसँगै काम गर्दाको मन फुकाएर गरिने हाँसख्याल ठट्टा रमाइलो क्षणका रुपमा ग्रामीण महिला सम्झन्छन् ।
केही दशक पहिलेसम्म दशैँ,दीपावली र छठपर्वअघि घर लिप पोतका लागि विभिन्न रङका माटो लिन टाढाटाढा जाने गरेको लालबन्दी नगरपालिका ६ की रमिला खड्काले बताईन् । तर पछिल्ला केही वर्षयता नदी किनार क्षेत्र लगातार उत्खनन् गरिँदा सेतो र पहेँलो माटोका भित्ता भत्केर बगेपछि अब घर लिपपोत र रङरोगनमा बजारु रङको भर पर्नुपरेको खड्काको भनाइ छ।यादव र खड्काजस्तै जिल्लाका ग्रामिण क्षेत्रका गृहणीहरु नदी डिलमा पहेँलो,कमेरे र कालो माटो पाइन छाडेको बताउ छन् ।
दशैँअघि घर लिपपोत गर्न नभ्याएका गृहिणीले अहिले दीपावली अघि गर्दैछन्।सर्लाहीका २० वटै पालिकाका अधिकांश ग्रामिण बस्तीमा अहिले घर सिँगारिदै छ।घर सिँगार्न,लिपपोत गर्ने काममा पुरुष पनि ठाउँठाउँमा देखिन्छन्।तर धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन् ।
घर लिपपोत र शृङ्गारको काम जताततै चलेपछि अहिले चुन (सेतो रङका लागि) र विभिन्न रङका पोकाको खरिद बिक्री निकै बढेको छ।दशैँदेखि दीपावलीसम्म घर लिपपोत र शृङ्गारको काम सकिएपछि बस्तीबस्ती उज्यालो देखिने,चहकिने गरेका छन्।दीपावलीअघि लिपपोत र रङरोगन गरिएको घर छठमा सामान्य सरसफाइ गर्दा हुने मानिन्छ।तर पहिलाको तुलनामा धेरै घरहरु पक्की बनेका कारण लिप पोतको काम पनि कम हुँदे गएको पाइएको छ ।